२९ बैशाख २०८३, मंगलवार

सुत्ने बानी र स्वास्थ्य : तकिया उचाइले निम्त्याउन सक्छ पक्षाघातको जोखिम

बेइजिङ । सुत्ने बानी र तकियाको उचाइले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने एक शोधले देखाएको छ। बेलायती जर्नल ‘युरोपियन जर्नल अफ कार्डियोलोजी’ मा प्रकाशित एक शोधपत्रका अनुसार अत्यधिक अग्लो तकिया प्रयोग गर्दा घाँटीको धमनीमा चोट पुग्ने र त्यसले मस्तिष्कघात (पक्षाघात) को जोखिम बढाउने तथ्य पुष्टि भएको छ।

शोधकर्ताका अनुसार घाँटीको दायाँबायाँ रहेको भर्टिब्रल धमनीले मस्तिष्कको पछिल्लो भाग, मस्तिष्क स्तम्भ र मस्तिष्कको केन्द्रसम्म रगत आपूर्ति गर्ने गर्दछ। घाँटी अत्यधिक तन्किँदा वा असहज रूपमा मोडिँदा यो धमनी च्यापिन वा दबिन सक्छ, जसले रक्तसञ्चारमा अवरोध उत्पन्न गराउँछ। यही अवरोधका कारण रगत जमेर ‘क्लट’ बन्न सक्छ, जसले धमनी साँघुरो वा बन्द हुन पुग्छ र अन्ततः मस्तिष्कमा रक्तस्राव वा पक्षाघात निम्त्याउन सक्छ।

यसरी हुने पक्षाघातको सबैभन्दा ठूलो जोखिम मस्तिष्क स्तम्भमा हुने रक्तस्राव हो। यस प्रकारको क्षतिले स्नायु प्रणालीमा दीर्घकालीन असर पार्दै आधा शरीर लाटो हुने, बोली लरबराउने वा ज्यानै जान सक्ने खतरा रहन्छ। केही बिरामीमा धमनी फुटेर रक्तस्राव भएपछि उपचार गर्दा पनि फरक-फरक असर बाँकी रहन सक्छ।

चाइनिज एकेडेमी अफ ट्रेडिसनल चाइनिज मेडिसिनको सियुयान अस्पतालको रक्तसञ्चार विभागका प्रमुख साओ जिङले हृदय तथा रक्तनलीसम्बन्धी रोग भएका बिरामी, विशेष गरी वृद्धवृद्धाले राति सुत्दा अनिवार्य रूपमा उपयुक्त उचाइको तकिया प्रयोग गर्नुपर्ने बताए। शरीरको माथिल्लो भाग अलिकति उठाएर सुत्न नसके वा सास फेर्न असहज भएमा मुटुको क्षमतामा शंका गर्नुपर्ने उनको भनाइ छ। यस्तो अवस्था मुटुको संकुचन क्षमता कमजोर भई रक्तप्रवाह अवरुद्ध हुँदा पेटमा पानी जम्ने र सास फेर्न गाह्रो हुने लक्षणको संकेत हुन सक्छ।

स्वस्थ तकिया छनोटका लागि विज्ञले तीन मुख्य बुँदामा ध्यान दिन सुझाएका छन्। पहिलो, तकियाको उचाइ— सुत्दा घाँटी, मेरुदण्ड र कम्मर एक सिधा रेखामा रहनुपर्छ। सिधा ढल्केर सुत्ने बानी भएमा तकिया करिब एक मुठी जति अग्लो हुनुपर्छ भने कोल्टो फर्केर सुत्नेलाई काँधको चौडाइ बराबरको उचाइ आवश्यक पर्छ। खाना नलीमा एसिड पर्कने समस्या भएका बिरामीले १५ देखि २० सेन्टिमिटर अग्लो तकिया प्रयोग गर्नुपर्छ। दोस्रो, तकियाको कठोरता— धेरै कडा तकियाले मांसपेशीमा दबाब पार्छ भने धेरै नरम तकियाले घाँटीलाई पर्याप्त सहारा दिन सक्दैन। तेस्रो, तकियाको आकार— समतल तकियाभन्दा घाँटीको प्राकृतिक वक्रतासँग मिल्ने अर्थोपेडिक तकिया प्रयोग गर्नु उपयुक्त हुन्छ।

साथै, तकियाको आयु पनि करिब ३ वर्षको हुने र योभन्दा पुरानो तकियामा पसिना, तैलिय पदार्थ, डन्ड्रफ र धुलोका कण जम्मा भई श्वासप्रश्वाससम्बन्धी रोग तथा छालाको समस्या निम्त्याउन सक्ने भएकाले समयमै परिवर्तन गर्न विज्ञले सुझाव दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button