२९ बैशाख २०८३, मंगलवार

चिनियाँ ब्रान्डको विश्वव्यापी उदय : बेलायतमा टेस्लालाई उछिन्यो बीवाइडीले, रोबोटदेखि धूपसम्म पहिचान बलियो

बेइजिङ । बेलायती उपभोक्ताले अनलाइनमा विद्युतीय सवारी खोज्दा अचेल सबैभन्दा माथि देखिने नाम टेस्ला नभएर चिनियाँ अटोमेकर बीवाइडीको हुन थालेको छ । सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्सले यसै महिना सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२६ को पहिलो चार महिनामा बीवाइडीले बेलायतको विद्युतीय सवारी बजारमा शीर्ष स्थान हासिल गरेको छ ।

बीवाइडीजस्ता चिनियाँ ब्रान्डले मूल्य प्रतिस्पर्धाले मात्र नभई तीव्र प्राविधिक नवप्रवर्तन, सांस्कृतिक प्रभाव र आत्मविश्वासी ब्रान्ड पहिचानका माध्यमबाट विश्व बजारमा स्थान बनाइरहेका छन् । यही बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिलाई पूर्वी चीनको झेजियाङ प्रान्तस्थित देकिङमा आयोजित २०२६ विश्व ब्रान्ड मोगान्सान समिटमा प्रदर्शन गरिएको थियो । उक्त समिटमा बीवाइडी, भिभो, क्वेइचाउ माउताई र अलिबाबालाई यस वर्षको ‘मेरो मनपर्ने चिनियाँ ब्रान्ड’ अभियानमा सम्मानित गरियो ।

प्रविधिमा आधारित नवप्रवर्तनले चिनियाँ ब्रान्डलाई विश्व मञ्चमा शक्तिशाली बनाइरहेको छ । एम्बोडिड इन्टेलिजेन्सको क्षेत्रमा युनिट्री रोबोटिक्स अर्को उदाहरण बनेको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी वाङ सिङसिङले सन् २०१६ मा स्थापनादेखि नै बाह्य आपूर्तिकर्तामा निर्भर नरही मोटरदेखि सेन्सर र मोसन–कन्ट्रोल एल्गोरिदमसम्मका सबै प्रविधि आफैं विकास गरेको बताए । यो रणनीति सफल देखिएको छ– सन् २०२५ मा कम्पनीको मानवीय रोबट पाँच हजार पाँच सयभन्दा बढी बिक्री भएको र चारखुट्टे रोबटको वैश्विक बजार हिस्सा ६० देखि ७० प्रतिशत रहेको बताइन्छ ।

प्रविधिसँगै सांस्कृतिक पहिचान पनि चिनियाँ ब्रान्डको विश्वव्यापी उदयको शक्तिशाली इन्जिन बन्दैछ । डोङफाङ सियाङताङ नामक धूप कम्पनीका अध्यक्ष झु झेङदोङले लोपोन्मुख चिनियाँ धूप संस्कृति पुनर्जीवित गर्दै विदेशी बजारमा विशेष स्टोर खोलिरहेका छन् । उनले धूपले चिनियाँ दर्शन र सौन्दर्यशास्त्रलाई सीमापार पुर्याउने बताए । भविष्यमा चीनले विश्वस्तरीय लक्जरी ब्रान्ड निर्माण गर्ने हो भने ती उत्पादन क्षेत्रबाट नभई सांस्कृतिक परम्पराबाटै जन्मने उनको दाबी छ ।

झेङझाउ विश्वविद्यालय बिजनेस स्कुलका सहप्राध्यापक वाङ वेइछ्याङले चीनको बढ्दो नवप्रवर्तन क्षमता, बजार गतिशीलता र सांस्कृतिक आकर्षणका कारण चिनियाँ ब्रान्ड विश्व बजारमा खुला र सहकार्यपूर्ण दृष्टिकोणका साथ प्रस्तुत भइरहेको बताए । परामर्शदाता कम्पनी किर्नीले चिनियाँ ब्रान्ड उत्पादन बिक्रेताबाट इकोसिस्टम निर्माताका रूपमा विकसित भइरहेको उल्लेख गरेको छ ।

रुसी बजारमा कम्प्युटर बिक्रीमा अग्रणी प्यासनका अध्यक्ष यु सिन्युले पछिल्लो तीन वर्षमा चिनियाँ ब्रान्डप्रतिको धारणा पूर्ण रूपमा बदलिएको बताए । ‘चिनियाँ सामान नक्कली र न्यूनस्तरको भन्ने छवि हटेर अब उच्चस्तरीय र गुणस्तरीय मानिन थालेको छ,’ उनले भने, ‘धेरै मानिस चीन कहिल्यै नगए पनि चिनियाँ वस्तु प्रयोग गरेर संस्कृति अनुभव गर्छन् । यस अर्थमा ब्रान्ड नै सन्देशवाहक हो ।’ ‘ब्रान्डले विश्वलाई उज्ज्वल भविष्य दिन्छ’ भन्ने नाराका साथ आयोजित समिटमा सरकारी निकाय, स्वदेशी तथा विदेशी कम्पनी, उच्च शिक्षण संस्था र उद्योग संघका प्रतिनिधिले ब्रान्ड विकासबारे गहन छलफल गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button