महेश दोभानमा तीन सवारी ठोक्किँदा १६ घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिक महेश दोभानमा सोमबार राति दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४८८ नम्बरको बस, काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७१६ नम्बरको बस र सोही दिशातर्फ गइरहेको बा ३ ख २०५६ नम्बरको ट्रक राति करिब १२ बजे एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते हुनेमध्ये ४ जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको बैरेनी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । तीनवटै सवारी साधन प्रहरी नियन्त्रणमा छन् ।





