विकासको नाममा अमानवीयता : औरहीका वडाध्यक्षद्वारा स्थानीयलाई रूखमा बाँधेर सडक खाली

औरही (सिरहा) । औरही नगरपालिका-३ का वडाध्यक्ष जीवछ यादवले एक स्थानीयलाई रूखमा बाँधेर अमानवीय व्यवहार गर्दै सडक खाली गराएको घटना सार्वजनिक भएको छ । सोमबार वडाध्यक्षसहितको टोली डोजर लिएर सडक खाली गर्न पुग्दा स्थानीय वीरेन्द्र साहलाई कुटपिट गरी रूखमा बाँधिएको हो ।
पीडित वीरेन्द्रका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गर्दा उनको जग्गा एकतर्फी रूपमा लिइएको थियो तर सडक प्रयोगमा आएन । सोही सडक खाली गर्न पुगेको टोलीले आफूले विरोध गरेपछि रूखमा बाँधेको उनले बताए । ‘म विकासको विरोधी होइन, तर यहाँ विकासकै नाममा लक्षित गरी प्रतिशोध साँधिएको छ,’ उनले भने ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा वडाध्यक्ष यादव स्वयं वीरेन्द्रलाई हप्काइरहेको देखिन्छ । तर, वडाध्यक्ष यादवले भने वीरेन्द्रले सडक अतिक्रमण गरेको र खाली गराउन जाँदा अवरोध गरेपछि स्थानीयले हात बाँधेको दाबी गरे । ‘त्यो सबै गलत कुरा हो,’ उनले भने ।
स्थानीय सन्तोष यादवले घटनालाई अमानवीय र क्रूर भन्दै वडाध्यक्षमाथि कानुनी कारबाहीको माग गरेका छन् । यसैबीच, भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे चासो देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको जानकारी दिए ।





