ट्रम्पको ‘अर्बपति सेना’ सहित बेइजिङ यात्रा, राजनीति होइन, आर्थिक शक्ति प्रदर्शनको अनुमान

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणका लागि भोलि राजधानी बेइजिङ पुग्दैछन्। उनको भ्रमणलाई विशेष बनाउने कुरा भनेको उनीसँगै जाँदै गरेको विश्वका शक्तिशाली कम्पनीका अर्बपति मालिक तथा कर्पोरेट प्रमुखहरूको डेढ दर्जनको टोली हो।
ट्रम्पको प्रतिनिधिमण्डलमा टेस्लाका मालिक एलन मस्क, एप्पलका सिइओ टिम कुक र बोइङका प्रमुख केली ओर्टबर्गजस्ता चर्चित नामहरू सामेल छन्। यसका साथै उक्त टोलीमा ब्ल्याकरकका ल्यारी फिंक, ब्ल्याकस्टोनका स्टेफन स्वार्जम्यान, कार्गिलका ब्रायन साइक्स, सिटीग्रुपकी जेन फ्रेजर, सिस्कोका चक रोबिन्स, कोहेरन्टका जिम एन्डरसन, जिइ एरोस्पेसका एच. लरेन्स कल्प, गोल्डम्यान साक्सका डेभिड सोलोमन, इलुमिनाका ज्याकब थायसेन, मास्टरकार्डका माइकल मिबाख, मेटासँग आबद्ध डिना पावेल म्याककर्मिक, माइक्रोनका सञ्जय मेहरोत्रा, क्वालकमका क्रिस्टियानो आमोन र भिसाका रायन म्याकइनर्नी रहेका छन्।
डेढ दर्जन व्यवसायीहरूको यो टोलीलाई हेर्दा ट्रम्पको यो भ्रमण औपचारिक राजनीतिक भेटवार्ताभन्दा बढी ‘अमेरिकी आर्थिक शक्ति प्रदर्शन’ तथा व्यावसायिक आदानप्रदानमा केन्द्रित हुने अनुमान गर्न सकिन्छ। विश्वको सबैभन्दा ठूलो बजारका रूपमा रहेको चीनसँग अमेरिकी कम्पनीहरू व्यापार, उत्पादन र प्रविधिमा गहिरोसँग जोडिएका छन्। विशेषगरी एप्पलको उत्पादन, टेस्लाको बजार, बोइङको विमान बिक्री, कम्प्युटर चिप उद्योग, दुर्लभ खनिज (रियर अर्थ), ठूलो लगानी र सुरक्षाजस्ता विषयमा ट्रम्पले चीनसँग नयाँ समझदारी खोज्ने तयारी गरेको अनुमान लगाउन सकिन्छ।
यसैबीच, केही समयअघि ट्रम्पसँगको दूरी बढेको चर्चाबीच एलन मस्कको सहभागिताले उनीहरू फेरि नजिकिएको सङ्केत अमेरिकी सञ्चारमाध्यमले गरेका छन्। विश्लेषकहरूका अनुसार ट्रम्प अहिले राजनीति मात्र होइन, पैसा र प्रविधिको शक्ति पनि आफ्नो पक्षमा रहेको देखाउन चाहिरहेका छन्।





