‘सांसदहरू नीतिगत बहसभन्दा साना आयोजनाको बजेट लिएर आउँछन्,’ अर्थमन्त्री वाग्लेको गुनासो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसमा सहभागी हुनुभन्दा पनि साना–साना आयोजना बोकेर बजेट माग्न आइरहेको बताएका छन्।
मङ्गलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, खानेपानी, सिँचाइ तथा अन्य खुद्रा योजनाका लागि बजेट माग गरिरहेको गुनासो गरे। ‘सांसदहरू मसँग व्यक्तिगत रूपमा पनि, समूहगत रूपमा पनि आएर भेटघाट गरिरहनुभएको छ। यद्यपि मैले के स्पष्ट पारेको छु भने धेरै सांसदज्यूहरू बजेट माग्न नै आउनुहुन्छ। नीतिगत कुराभन्दा पनि बजेटकै साना–साना प्रोजेक्टहरूकै माग गरेर आउनुभएको छ,’ उनले भने।
उनले हालको अभ्यासअनुसार कुनै पनि आयोजना सम्बन्धित मन्त्रालयबाट प्रस्ताव भएर मात्र अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा आउने व्यवस्था रहेको स्पष्ट पारे। धेरै साना तथा स्थानीय प्रकृतिका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्नुपर्ने भएकाले सङ्घीय बजेटमा समेट्न कठिन हुने उनको भनाइ छ। तथापि, मन्त्रालयहरूले सांसदहरूले पठाएका प्रस्ताव र सुझावहरूलाई कुन हदसम्म बजेटमा समावेश गर्न सकिन्छ भन्नेबारे अभ्यास गरिरहेको उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सङ्घीय बजेट अब ठूला नीतिगत प्राथमिकता, १६औं आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा शासकीय सुधारको रोडम्यापसँग मेल खाने योजनामा केन्द्रित हुने बताए। सांसदहरूले उठाएका मागलाई साधन–स्रोतको सीमाभित्र रहेर न्यायोचित रूपमा सम्बोधन गर्ने प्रयास भइरहेको पनि उनले उल्लेख गरे।
यसैगरी, अर्थमन्त्री वाग्लेले वैशाख ३१ पछि बजेट निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने र त्यसपछि अर्थ मन्त्रालयले अन्तिम रूप दिने काम तीव्र हुने बताए। बजेट निर्माण अन्तिम क्षणसम्म चल्ने उल्लेख गर्दै उनले जेठ १५ गते बजेट प्रस्तुत हुने दिन मध्यरातसम्म पनि बजेट लेख्ने काम जारी रहने अनुभव सुनाए।
उनले वर्तमान सरकारले बजेट प्रक्रिया सुरु भइसकेपछि जिम्मेवारी सम्हालेकाले परामर्श र तयारीका लागि समय केही कम भएको स्वीकार गर्दै सांसदहरूका चासो र सुझावलाई सकेसम्म समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए।





