२९ बैशाख २०८३, मंगलवार

अपहरण गरी नग्न बनाएर भिडियो खिच्ने आरोपमा मन्त्री यादवकै स्वकीय चालक पक्राउ

राजविराज (सप्तरी) । एक युवकलाई अपहरण गरी नग्न बनाएर कुटपिट गर्ने, थुक चाट्न लगाउने र भोजपुरी गीतमा नचाएर भिडियो खिच्नेलगायत अमानवीय यातना दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयमा चालक नियुक्ति पाएका २७ वर्षीय मुस्तकिम मियाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका मियाँलाई सोमबार राजविराज–८ क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मुस्तकिम मियाँसहित चार जनाको समूहले गत फागुन १४ गते बिहान करिब ८ बजे राजविराज–३ हनुमानचोकबाट राजुकुमार चौधरी नामका युवकलाई मोटरसाइकलमा आएर बन्दुक देखाउँदै अपहरण गरेको थियो। त्यसपछि उनलाई राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको सुनसान क्षेत्रमा लगेर कुटपिट गर्नुका साथै शरीरका सम्पूर्ण कपडा खोलेर नग्न बनाइएको आरोप छ।

जाहेरीअनुसार आरोपितहरूले पीडितलाई भुइँमा थुक चाट्न लगाउनुका साथै भोजपुरी गीतमा नचाएर भिडियोसमेत बनाएका थिए। उनीहरूले पीडितसँग रहेको करिब २२ हजार रुपैयाँ मूल्यको मोबाइल, दुई तोला सुनको सिक्री र नगद १ लाख ३० हजार रुपैयाँसमेत लुटेको आरोप छ।

करिब तीन घण्टासम्म बन्धक बनाएर यातना दिँदै घटना सार्वजनिक गरे भिडियो भाइरल बनाइदिने, ज्यान मार्ने तथा शारीरिक अङ्ग काटिदिने धम्कीसमेत दिइएको जाहेरीमा उल्लेख छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मुस्तकिम मियाँसहित मो. जुनेद मियाँ, मो. एकवाल मियाँ र आदित्यकुमार यादवविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराएको थियो। फरार रहेका अन्य प्रतिवादीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मियाँलाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यसैबीच, मन्त्री यादवले मुस्तकिमलाई गत चैत २७ गते स्वकीय सचिवालयको हलुका सवारी चालक पदमा नियुक्ति दिएको खुलेको छ। नियुक्तिपत्रमा तोकिएको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठापूर्वक सम्पन्न गर्न भनिएको थियो भने सो नियुक्तिको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि दिइएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button