२९ बैशाख २०८३, मंगलवार

‘मिनी पार्लियामेन्ट’ मा मिडिया निषेधको प्रवृत्तिप्रति सांसद पुनको आपत्ति, तत्काल सच्याउन माग

काठमाडौं । नेकपाका सांसद वर्षमान पुन अनन्तले संसदीय समितिहरूमा सञ्चार माध्यमलाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन माग गरेका छन्।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पुनले मिडियालाई निषेध गरेर कुनै पनि छलफल हुन नहुने बताए। लोकतन्त्रमा सुशासन, जवाफदेहिता र पारदर्शिता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो। ‘लेखा समितिसहित संसद्का अरू समितिमा मिडिया राखेर छलफल हुनुपर्छ,’ पुनले भने, ‘संसदीय समितिहरू सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शिता र लोकतन्त्रको कुरा गर्न मिल्दैन।’

जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरूभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए। ‘जनताको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।

फरक प्रसङ्गमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्नुपर्ने पनि स्पष्ट गरे। ‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन। सही र गलत भन्ने हुन्छ,’ पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ। पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन।’

यसैबीच, सभामुख डोलप्रसाद अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेले संसद्को बैठक र समितिहरूमा मिडियालाई जतिसक्यो नियन्त्रण गर्ने गरी अघि बढेको चर्चाका बीच पछिल्ला दिनमा मिडियाले संसद्मा पाउँदै आएको पहुँच कटौती गरिँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button