२९ बैशाख २०८३, मंगलवार

हाम्रो पार्टी नेपालले सांसद सुनार र उपसभापति यादवलाई निष्कासन गर्ने

काठमाडौं । हाम्रो पार्टी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका पार्टी सभापति खगेन्द्र सुनार र उपसभापति नमिता यादवलाई पार्टीबाट निष्कासन गर्ने भएको छ। पार्टीका महामन्त्री दधिराम परियारले भोलि बस्ने केन्द्रीय समितिको बैठकमा उनीहरूलाई निष्कासनको एजेन्डा रहेको जानकारी दिए।

सुनारको नेतृत्वमा गत मङ्सिर ८ गते निर्वाचन आयोगमा दर्ता भएको हाम्रो पार्टी नेपाल र रास्वपाबीच पुस २९ गते एकता भएको थियो। सोहीअनुरूप फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा रास्वपाबाट उम्मेदवार बनेका सुनार निर्वाचित भएका थिए।

तर, सांसद निर्वाचित भएपछि सुनारले हाम्रो पार्टीलाई बेवास्ता गर्नुका साथै एकता प्रक्रियामा जोड नदिएको महामन्त्री परियारले बताए। ‘सम्झौता भएको डेढ महिनाभित्र समाहित भइसक्नुपर्ने रहेछ। तर, चुनावी कारणले हुन सकेन। अहिले हामी रास्वपामा समाहित छैनौं। सभापतिजीलाई केही वास्ता छैन। सम्पर्कविहीन हुनुहुन्छ,’ उनले भने।

सुनारसहित उपसभापति यादव पूर्ण रूपमा रास्वपामा सक्रिय भएकाले हाम्रो पार्टीबाट निष्कासन गर्न लागिएको बताउँदै महामन्त्री परियारले भने, ‘भोलिको बैठकले यसबारे निर्णय गर्नेछ। अब हाम्रो पार्टी हामी नै चलाउँछौं।’ उनका अनुसार अहिले हाम्रो पार्टीमा २४ जना सक्रिय केन्द्रीय सदस्य छन्।

दलित, सीमान्तकृत तथा पिछडिएका वर्गको हकहितका लागि आवाज उठाउन भन्दै खोलिएको यो पार्टी सुनार रास्वपामा सक्रिय भएपछि गुमनाम बन्न पुगेको छ। अब भने पार्टीलाई पुनः सक्रिय बनाउने महामन्त्री परियार बताउँछन्। ‘सभापतिज्यूले दलित आन्दोलनलाई सांसद पदमा साट्नुभयो तर हामी अब सशक्त रूपमा खडा हुनेछौं। देशभर दलितमाथि बढिरहेको विभेद, आक्रमण र अन्यायको दह्रो रूपमा आवाज उठाउनेछौं,’ उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button