‘रास्वपा अराजक समूहहरूको अस्थायी गठजोड हो’, एमाले दलका नेता थापाको आरोप

काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै उनले रास्वपा कुनै सुव्यवस्थित वा सुसङ्गत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाए।
‘रास्वपा कुनै सुसज्जित विचारधारामा आधारित दल होइन। यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सारसङ्ग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडिएको छ,’ थापाले भने, ‘यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्त प्रिय देखिन्छ तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।’
उनले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाए। राष्ट्रिय गौरवका धरोहरमा आगजनी हुँदा मौन बसेको सेना सुकुम्बासीको बस्ती उठाउन भने उभिएको भन्दै उनले सेनाको नियतमाथि प्रश्न उठाए।





