२९ बैशाख २०८३, मंगलवार

‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ’, प्रचण्डको भावुक सम्बोधन

काठमाडौं । नेकपाका संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्मा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा मङ्गलबार सम्बोधन गर्दै संयोजक प्रचण्डले क्रान्ति, बलिदान र लामो सङ्घर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’ को सङ्ज्ञा दिए। ‘परिणामका दृष्टिले सानो ठूलो जे–जे सुकै भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ, महत्त्वपूर्ण रहनेछ,’ उनले भने।

प्रचण्डले विगत र वर्तमानबीच तथ्याङ्कमै आधारित तुलना गर्दै संसद्को रूपान्तरणलाई स्पष्ट पारे। आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे।

‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। क्रान्तिले लेखिएको छ। पिठ्युँमा दूधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ,’ प्रचण्डले भने, ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसद्मा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू?’

पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको बताउँदै प्रचण्डले क्रान्तिको मसाल आफ्नै रगतले बालेको स्मरण गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button