२९ बैशाख २०८३, मंगलवार

सल्यानमा असिना र बाढीको विनाशकारी प्रकोप, सांसद मल्लद्वारा संसद्मा सरकारको ध्यानाकर्षण

काठमाडौं । सल्यानबाट प्रतिनिधित्व गर्ने सांसद रमेश मल्लले लगातार तीन पटकको विनाशकारी असिना र वर्षासहितको जलवायुजन्य प्रकोपले जिल्लाको व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएको जनतालाई गम्भीर आघात पुर्याएको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्।

सभामुखलाई सम्बोधन गर्दै सांसद मल्लले गत शनिबार मुख्यतः बागचौर नगरपालिका, छत्रेश्वरी र कपुरकोट गाउँपालिकालगायत क्षेत्रमा परेको असिनापानी र त्यसपछि शारदा नदीमा आएको बाढीले सयौं रोपनी खेत पुरिएको, पाकेको गहुँ, तरकारी तथा सुन्तला, आँप, लिची, ओखर, टिमुर, किवी, स्याउलगायत फलफूलबाली नष्ट भएको बताए। ग्रामीण सडक, सिँचाइ कुलो, खानेपानी योजना र तटबन्ध संरचना क्षतविक्षत हुँदा जनजीवन कष्टकर बनेको उनको भनाइ छ।

सांसद मल्लले तत्कालका लागि तीनै तहका सरकारको समन्वयमा पीडित किसान र क्षतिग्रस्त संरचनाको यथार्थ लगत सङ्कलन गरी राहत, क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्न र कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए।

एकातिर बँदेल, बाँदरलगायत जङ्गली जनावरको अतिक्रमण, अर्कोतिर अतिवृष्टि र अनावृष्टिको मारले किसानमा आशा हराउँदै गएको उल्लेख गर्दै सांसद मल्लले यसमा सरकार बेखबरझैं बन्नुले राज्यप्रतिको भरोसासमेत कमजोर बनेको बताए। उनले सरकार अभिभावक बनेर पीडितको घाउमा मल्हम लगाउनुपर्ने माग गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button