‘जनतालाई न्याय दिन अध्यादेश ल्याइयो, विपक्षीको रोइलोको कारण छैन’: रास्वपा सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन्। प्रतिनिधि सभाको मङ्गलबारको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय दिने उद्देश्यले आठ वटा अध्यादेश ल्याइएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको बताए।
‘हुन त यी विषयमा म आज धेरै चर्चा गर्न चाहन्न, तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईंहरूले केसम्म गर्न भ्याउनुभयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न, आज उहाँहरूलाई न्याय दिनु छ,’ पराजुलीले विपक्षीप्रति लक्षित गर्दै भने।
विगत ३७ वर्षमा दलहरूले नेपालका सबै संरचना र सेवा प्रवाहलाई थिलथिलो बनाएको आरोप लगाउँदै उनले विगतमा दलहरूले कार्यकर्ता र बिचौलियामार्फत जनतालाई शोषण र दमन गरेको बताए। दलीयकरण अन्त्य गर्न र विकास अगाडि बढाउन वन ऐन र खरिद ऐनलगायतमा संशोधन गर्न सरकारले अध्यादेश ल्याउनु परेको उनको भनाइ थियो।
‘लोकतन्त्रका लागि लडेकाहरूले व्यवस्था परिवर्तनका लागि जेलनेल भोगेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि ज्ञापनपत्र बुझाउनुभयो,’ पराजुलीले भने, ‘कुन धरातलमा उभिएर लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ?’
पराजुलीले विपक्षी दलहरूलाई अध्यादेशप्रति चित्त नबुझे प्रतिस्थापन विधेयकमा आफ्ना मत राख्न आग्रह गरे। साथै, पछिल्ला दिनमा न्यायालयलाई दूषित बनाउन विभिन्न प्रयास भएकोप्रति दुःख व्यक्त गर्दै उनले दलको भागबन्डामा न्यायाधीश बनेकाहरूले आफ्नो आचारसंहिता पालना नगरेको टिप्पणी गरे। आफ्नो मर्यादा बिर्सेर व्यापारिक कार्यक्रममा सहभागी हुने र दलको भागबन्डाका न्यायाधीशले सडकबाट तिहाइको सरकारलाई ललकारेकोप्रति उनले आपत्ति जनाए।
यस्तै, पराजुलीले वर्तमान सरकारले सीमानामा आवतजावत व्यवस्थित गर्न गरेको प्रयासप्रति विरोध जनाउनुको कुनै तर्क नभएको बताउँदै जनताको सहज दैनिकी र आन्तरिक बजार सुदृढीकरणका लागि उक्त प्रयास गरिएको जानकारी दिए।





