सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित पक्राउ, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने र फिल्डमा माटो झार्न नदिई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले आरोपी अधिकारीविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिए।
यस्तै, नेपाल सरकार प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेतको घुससम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा प्रतिकूल हुने गरी बयान दिएको पाइएकाले सुमित्राकुमारी पुडासैनीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगले पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।





