‘काम दिन्छु’ भन्दै कोठामा लगेर बलात्कार, एक महिनासम्म बन्धक बनाएर यातना दिएको पीडितको व्यथा

भर्जिनिया (अमेरिका) । अमेरिकाको भर्जिनियामा एक नेपाली युवतीलाई काम खोजिदिने बहानामा आफ्नै कोठामा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। राजधानी वासिङ्टन डिसी नजिकैको भर्जिनियामा गत एक दशकदेखि बस्दै आएका एक नेपाली व्यक्तिले उक्त घटना घटाएको पीडित युवतीले बताएकी छन्।
यो घटनापछि अमेरिका बस्ने केही नेपालीले सामाजिक सञ्जालमा ‘भर्जिनियाका साथीहरू, पीडितलाई साथ, सहयोग र आँट दिऊँ। समाजमा गन्हाएका बोकाहरूलाई समयमै पुलिसको जिम्मा लगाउनु समाजको हितमा हुनेछ’ भन्दै स्टाटस हाल्न थालेका छन्। सोही सन्दर्भमा यस ड्रागन मिडियाले पीडित युवतीसँग सम्पर्क गरी घटनाको वास्तविकताबारे जानकारी लिएको छ।
पीडितको भनाइ के छ?
पीडित युवती सन् २०२५ मा डिभी परेर अमेरिका गएकी थिइन्। अगस्टमा अमेरिका पुगेर एक महिना टेक्सास बसेपछि कामको खोजीमा सेप्टेम्बरमा भर्जिनिया पुगेकी थिइन्। करिब १५ दिन एकजना घरबेटीकोमा बसेपछि लामो समय काम नपाएकी उनलाई घरबेटी दिदीले कामका लागि बुझ्न लान्छु भन्दै नजिकैको सेभेन इलेभनमा लगेकी थिइन्। त्यहीँ एक जना नेपाली व्यक्तिसँग कुरा भएको थियो।
पीडितले भनेकी छन्, ‘उसले म काम दिन्छु, म यहाँको म्यानेजर हुँ, आजै मालिकसँग कुरा गर्छु भन्यो।’ तर, पछि काम देखाउने बहानामा उनलाई सोझै आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडितको आरोप छ।
‘म रोएँ, कराएँ, यस्तो नगर्नु भनेँ। तर त्यतिबेला मेरो चित्कार सुन्ने कोही थिएन। उसले केही नसुनी मलाई लगातार बलात्कार गर्यो,’ पीडितले भनेकी छन्। २०२५ अक्टोबर ५ देखि करिब एक महिनासम्म बन्धक बनाएर यातना दिएको उनको भनाइ छ।
पटकपटक धम्की र यातना
पीडितका अनुसार आरोपितले पटक–पटक धम्की दिएको थियो। ‘तैंले कोही नेपालीलाई भनिस् अथवा पुलिसलाई भनिस् भने तेरो सबै ब्याकग्राउन्ड बिग्रिन्छ। नेपालीलाई भनिस् भने यहीँ मारिदिन्छु,’ भन्दै धम्क्याउने गरेको उनले बताएकी छन्। डरका कारण लामो समयसम्म यो कुरा कसैलाई भन्न नसकेको उनको भनाइ छ।
पछि आरोपितले बिस्तारै फकाउन सुरु गरेको र ‘म तिमीलाई बिहे गर्छु’ भन्दै प्रलोभन देखाएको पीडित बताउँछिन्। तर, आरोपितले रक्सी र गाँजा खाएर कुटपिट गर्न थालेको उनले जनाएकी छन्। एकदिन त आफ्नो साथीलाई ‘यो केटीसँग मलाई सुत्न मन छैन, तिमी लिएर जाऊ’ भनेको पीडितको भनाइ छ।
एकपटक सेभेन इलेभनको महिला शौचालयमा कुटपिट गर्दा घाँटी, टाउको र आँखामा चोट लागेको र आरोपितले उल्टै पुलिस बोलाएर ‘यो आफैं मर्न खोजेको हो, पागल हो’ भन्दै मानसिक अस्पताल पुर्याइदिएको पीडितको दाबी छ। अङ्ग्रेजी नबोल्न सक्ने उनले त्यहाँ करिब पाँच दिन कैदीजस्तो जीवन बिताएको बताएकी छन्। डाक्टरले मानसिक रोग नभएको भन्दै डिस्चार्ज गरेपछि मात्र उनी बाहिर निस्कन सकेकी थिइन्।
घटना सार्वजनिकपछि पनि समस्या
घटनाबारे थाहा पाएपछि कुनै पनि नेपालीले आफूलाई कोठा नदिएको पीडितको गुनासो छ। उनी अहिले होटलमा बसिरहेकी छन्। आरोपित झापा घर भएको मदन भनिने व्यक्ति भएको र उसलाई कडाभन्दा कडा सजाय होस् भन्दै पीडितले न्यायका लागि सबै नेपालीलाई आग्रह गरेकी छन्। साथै, आफूजस्तो अरूले दुःख नपाओस् भन्दै सबैलाई सचेत रहन पनि उनले आग्रह गरेकी छन्।





