‘सैन्य विस्तारको खतरनाक महत्त्वाकाङ्क्षा रोक्नुस्’, जापानी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

बेइजिङ । चीनले जापानी प्रधानमन्त्री सानाए ताकाइचीको अस्ट्रेलिया र भियतनाम भ्रमणका क्रममा सैन्य गठबन्धन विस्तार गर्ने विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ज्याङ बिनले शनिबार जापानी पक्षलाई ‘ढोँगी आत्मप्रशंसा बन्द गर्न र सैन्य विस्तार तथा युद्धको तयारीको खतरनाक महत्त्वाकाङ्क्षालाई नियन्त्रणमा राख्न’ आग्रह गरे।
जापानी प्रधानमन्त्री ताकाइचीले हालैको भ्रमणका क्रममा ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ को अद्यावधिक दृष्टिकोण प्रस्तुत गर्दै अमेरिकी सैन्य कब्जाका बखत मस्यौदा गरिएको जापानको युद्धपछिको संविधानलाई समयानुकूल बनाउन नियमित रूपमा अद्यावधिक गर्नुपर्ने बताएकी थिइन्।
प्रवक्ता ज्याङले जापानले तथाकथित ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ र ‘सुरक्षा सहकार्य’ को बहानामा गुटगत टकराव भड्काउने र ‘साना घेरा’ निर्माण गर्ने काम गरिरहेको बताए। ‘यसले अन्य देशहरूको रणनीतिक सुरक्षा र हितलाई कमजोर पार्दछ र जापानले आफ्नो सैन्य विकासमाथिको प्रतिबन्धबाट मुक्त हुने बहानाका रूपमा काम गर्दछ, जसको हामी दृढतापूर्वक विरोध गर्दछौं,’ उनले भने।
प्रवक्ता ज्याङले सन् २०२६ मे ३ तारिख टोकियो ट्रायल सुरु भएको ८०औं वार्षिकोत्सव भएको स्मरण गराउँदै पछिल्ला आठ दशकमा जापानका दक्षिणपन्थी शक्तिहरूले मानवीय अन्तरात्मा र ऐतिहासिक न्यायको मूर्तरूप टोकियो ट्रायलको गम्भीर फैसलालाई कमजोर पार्न र अवहेलना गर्न कुनै कसर बाँकी नराखेको बताए। ताकाइची प्रशासनले खुलेआम संविधान संशोधनको वकालत गर्नुले जापानी दक्षिणपन्थी शक्तिहरूले आफ्नो दम्भ त्यागेको र गोप्य सैन्य निर्माणबाट खुला युद्ध तयारीतर्फ सर्दै जापानको ‘नव–सैन्यवाद’ क्षेत्रीय शान्तिका लागि बढ्दो प्रमुख खतरा बन्दै गएको उनले बताए। प्रवक्ता ज्याङले जापानी सत्तारूढ अधिकारीहरूलाई इतिहासको सामना गर्ने साहस देखाउन र जापानको अपराधको प्रायश्चित गर्न वास्तविक कदम चाल्न आग्रह गरे।





