चीनद्वारा पाकिस्तानलाई पहिलो किलिन–क्लास पनडुब्बी हस्तान्तरण, दुई देशबीच रणनीतिक सहकार्यको नयाँ अध्याय

बेइजिङ/सान्या । चीनले पाकिस्तानलाई पहिलो किलिन–क्लास परम्परागत पनडुब्बी हस्तान्तरण गरेको छ। हङ्गोर–क्लास पनडुब्बीको रूपमा पनि चिनिने पीएनएस/एम हङ्गोरको सुपुर्दगी दुई देशबीचको सामान्य सैन्य उपकरण सहकार्यको प्रतिनिधित्व गर्ने र उनीहरूको सर्वमौसम रणनीतिक सहकारी साझेदारीको जीवन्त मूर्तरूप भएको चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयले शनिबार जनाएको छ।
गत अप्रिल ३० मा दक्षिण चीनको हाइनान प्रान्तको सान्या सहरमा आयोजित समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र नौसेना प्रमुख एडमिरल नवीद अशरफको उपस्थितिमा उक्त पनडुब्बी औपचारिक रूपमा पाकिस्तानी नौसेनामा समावेश गरिएको थियो।
रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ज्याङ बिनले दुवै देशका नेताहरूको रणनीतिक नेतृत्वमा पछिल्ला वर्षहरूमा द्विपक्षीय सम्बन्ध निरन्तर नयाँ उचाइमा पुगेको र नयाँ उपलब्धि हासिल गरेको बताए। दुई सेनाबीच रणनीतिक संवाद, संयुक्त अभ्यास तथा प्रशिक्षण, जनशक्ति विकास र उपकरण तथा प्रविधिको क्षेत्रमा फलदायी सहकार्यले दुवै देशको सुरक्षा र क्षेत्रीय शान्ति तथा स्थिरतामा महत्त्वपूर्ण योगदान पुर्याएको उनले उल्लेख गरे।
‘आगामी चरणमा दुई सेनाबीच रणनीतिक पारस्परिक विश्वासलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्यलाई गहिरो बनाउने काम हुनेछ, ताकि अझ घनिष्ठ चीन–पाकिस्तान साझा भविष्यको समुदाय निर्माण गर्न र विश्व शान्ति तथा विकासमा योगदान पुर्याउन सकियोस्,’ प्रवक्ता ज्याङले भने।





