३० बैशाख २०८३, बुधबार

काठमाडौंको डोजर अभियानबारे संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार विज्ञहरूद्वारा सक्रिय निगरानी सुरु

काठमाडौं । काठमाडौंमा भइरहेको घरटहरा हटाउने अभियानमाथि संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूले सक्रिय निगरानी सुरु गरेका छन्। जेन जेड मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई पठाइएको आधिकारिक जवाफमा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले काठमाडौंका विभिन्न स्थानमा भइरहेको डोजर अभियान र त्यससँग सम्बन्धित मृत्यु घटनाबारे विस्तृत जानकारी विशेष प्रतिवेदकहरूलाई पठाइएको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकहरू कोल्डो कास्ला, पाउला गाभिरिया बेटानकुर र एलेना क्यारोलिना डियाज गालानलाई उक्त जानकारी पठाइएको हो। उनीहरूले थापाथली, बल्खु र मनोहरा क्षेत्रका नदीकिनार बस्तीमा भइरहेको बलपूर्वक हटाउने कार्यप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन्।

यसैगरी, बल्खुमा गत वैशाख ३० गते ६१ वर्षीय इन्द्रबहादुर राईले बागमती नदीमा हाम फालेर ज्यान गुमाएको तथा थापाथलीमा १७ वर्षीय रविन तामाङ वैशाख २९ गते मृत फेला परेको घटनालाई पनि विशेष रूपमा उल्लेख गरिएको छ। यी दुवै घटना जारी डोजर अभियानकै बीच भएको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घले विस्थापित परिवारहरूको अवस्था, आगामी योजनाबद्ध हटाउने अभियान, प्रभावित नागरिकहरूको कुल सङ्ख्या तथा यसमा संलग्न सरकारी निकायबारे थप विवरण माग गरेको छ। यससँगै काठमाडौंका नदीकिनार बस्तीमा भइरहेको हटाउने अभियान अब स्थानीय विवादको विषय मात्र नरही अन्तर्राष्ट्रिय मानवअधिकार चासोको विषय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button