५ असार २०८३, शुक्रबार

सन् २०१७ को ‘फर्बिडन सिटी’देखि २०२६ को ‘जोङनान्हाई’सम्म : शक्तिशाली चीनको सामना गर्न आउँदै ट्रम्प

सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक चीनको राजकीय भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘फर्बिडन सिटी’ भित्र भव्य रात्रिभोज दिएर स्वागत गरेका थिए। त्यो सम्मान यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले पाएको थिएन। लगभग ९ वर्षपछि आज, ट्रम्प पुनः बेइजिङ ओर्लिंदैछन्। यसपटक पनि स्वागतमा कुनै कसर बाँकी नराखिए पनि, ट्रम्पले सामना गर्न लागेको चीन भने २०१७ को भन्दा धेरै बदलिएको र शक्तिशाली छ। बेइजिङमा उनको स्वागतका लागि चिनियाँ शीर्ष नेतृत्वको कार्यथलो र निवास रहेको ‘जोङनान्हाई’ क्षेत्रमा भव्य तयारी गरिएको छ। तर, स्वागतको तामझाम उस्तै भए पनि एजेन्डा भने निकै जटिल र पेचिला छन्।

चीनको फड्को : ‘नयाँ उत्पादक शक्ति’ देखि एआई हबसम्म

ड्रागन मिडियामा यसअघि प्रकाशित विश्लेषणले चीनको यो फड्कोलाई राम्ररी उजागर गरेको छ। सन् २०१७ मा चीन आफूलाई अमेरिकासँग ‘बराबर’ देखाउने प्रयासमा थियो। तर, यसपटक त्यो सावित गरिरहनु पर्ने आवश्यकता छैन। अभूतपूर्व तेस्रो कार्यकाल सम्हालिरहेका सीले ‘नयाँ उत्पादक शक्ति’ को अवधारणा अघि सार्दै नवीकरणीय ऊर्जा, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो लगानी ओइर्याएका छन्। चीनले सन् २०२५ मा मात्र करिब ४३ करोड किलोवाटभन्दा बढी सौर्य र वायु ऊर्जा क्षमता थपेको थियो। एआईमा पनि चीनले उल्लेख्य छलाङ मारेको छ। सन् २०२५ को अन्त्यसम्ममा चीनमा ६० करोडभन्दा बढी प्रयोगकर्ताले उत्पादक एआई उपकरणहरू प्रयोग गरिरहेका थिए।

चीनको प्रगति हेर्न बेइजिङ मात्र पर्याप्त छैन। उत्तरी भेगका चरन र मरुभूमि अहिले सौर्य र वायु ऊर्जाका विशाल फार्मले भरिएका छन् भने दक्षिणी औद्योगिक सहरमा स्वचालनले कारखानाको स्वरूप नै बदलिदिएको छ। यसबीच, विश्वसामु आफ्नो छविलाई नरम बनाउन चीनले दक्षिण-पश्चिमको औद्योगिक सहर चोङकिङलाई ‘मित्रवत अनुहार’ का रूपमा प्रस्तुत गरिरहेको छ। चोङकिङ अहिले नयाँ प्रविधि र आधुनिक व्यापारको केन्द्रका रूपमा उदाएको छ।

शक्ति सन्तुलनको बदलिँदो बोध

सन् २०१७ र २०२६ बीचको सबैभन्दा ठूलो परिवर्तन भनेको शक्ति सन्तुलनको बोध हो। इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार अलि वाइन भन्छन्, “त्यसबेला चिनियाँ पक्षले सी र ट्रम्प भू-राजनीतिक रूपमा बराबर हुन् भन्ने छाप छोड्न ठूलो कूटनीतिक कसरत गरेको थियो। तर, यसपटक चीनलाई त्यो सावित गरिरहनु पर्ने आवश्यकता छैन।” वासिङ्टनले नै अहिले चीनलाई मुख्य प्रतिस्पर्धी स्वीकार गरिसकेको छ।

यो भ्रमण केवल दुई नेताबीचको भेट मात्र नभई, एक दशकमा आमूल रूपान्तरण भएको विश्वव्यवस्थाको जीवन्त तस्वीर हुनेछ। ड्रागन मिडियाको विश्लेषणले औंल्याएझैं, “चीन निरन्तरको दौडमा छ।” सिङ्गापुरका संस्थापक नेता ली कुआन यूको भनाइलाई उद्धृत गर्दै ड्रागन मिडियाको लेखले भन्छ, “विश्वका अधिकांश बहुराष्ट्रिय कम्पनी चीनमा लगानी गर्न चाहन्छन् भने हामी किन जाने?” यो आत्मविश्वासले नै आज चीनलाई एक दशकअघिको तुलनामा पूर्णतः फरक हैसियतमा उभ्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button