३० बैशाख २०८३, बुधबार

इरान युद्धकै बीच ट्रम्प प्रस्थान, नौ वर्षपछि चीन पुग्दा फेरिएको शक्ति सन्तुलन

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग जारी युद्धकै बीच बुधबार बिहान चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। पछिल्लो नौ वर्षयता ट्रम्पको यो पहिलो चीन भ्रमण हो। बेइजिङमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्। दुई नेताबीचको औपचारिक बैठक बिहीबार र शुक्रबारका लागि तय गरिएको छ। व्यापार, इरान युद्ध र ‘स्ट्रेट अफ होर्मुज’ सङ्कटबारे छलफल हुने बताइएको छ।

प्रस्थानअघि ट्रम्पले सी जिनपिङसँग इरानको विषयमा लामो छलफल हुने बताए। उनले इरानलाई चेतावनी दिँदै भने, “या त उनीहरूले सम्झौता गर्नेछन्, होइन भने विनाशतर्फ जानेछन्। जे भए पनि अन्ततः जित हाम्रो हुनेछ।” उनले अमेरिका सैन्य र कूटनीतिक दुवै विकल्पका लागि तयार रहेको पनि स्पष्ट पारे।

सन् २०१७ मा ट्रम्पलाई चीनले उच्च सम्मानसहित स्वागत गरेको थियो। तर, पुनः चीन पुग्दा धेरै कुरा बदलिसकेका छन्। अहिले चीन पहिलेभन्दा अझ शक्तिशाली र आत्मविश्वासी देखिन्छ। अभूतपूर्व तेस्रो कार्यकालमा रहेका सी जिनपिङले नयाँ उत्पादनशील शक्तिहरू निर्माण गर्ने योजनालाई तीव्रता दिएका छन्, जसअन्तर्गत नवीकरणीय ऊर्जा, रोबोटिक्स र कृत्रिम बुद्धिमत्तामा ठूलो लगानी भइरहेको छ। यदि ट्रम्प र उनको टोलीले पछिल्लो दशकमा चीनले कस्तो भविष्य निर्माण गर्न खोजिरहेको छ भन्ने झलक देख्न चाहन्छ भने, उनीहरूले बेइजिङको औपचारिक राजनीतिक केन्द्रभन्दा बाहिर पनि हेर्नुपर्ने हुन्छ।

अर्कोतर्फ, अमेरिका भने नचाहेको युद्धमा अल्झिएको आरोप लाग्ने गरेको छ। हालै इरानले फेरि हमला भए ९० प्रतिशतसम्म युरेनियम संवर्धनतर्फ अघि बढ्न सक्ने चेतावनी दिएको थियो। विज्ञहरूका अनुसार इरान सङ्कट समाधानमा चीनको भूमिका यस भ्रमणमा निकै महत्त्वपूर्ण बन्न सक्छ। चीनलाई इरानको प्रमुख आर्थिक तथा रणनीतिक साझेदारका रूपमा हेरिन्छ। ट्रम्पको भ्रमणअघि इरानी विदेशमन्त्रीले समेत बेइजिङको भ्रमण गरेका थिए।

यसैबीच, अमेरिका–इरान तनावका बीच चीनले पाकिस्तानलाई कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक डरसँग अमेरिका र इरानबीच वार्ता अघि बढाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका हुन्। उनले होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयलाई पनि सावधानीपूर्वक र सही ढंगले व्यवस्थापन गर्नुपर्ने बताएका छन्। यो वार्ता ट्रम्प चीन भ्रमणका क्रममा बेइजिङ पुग्दै गर्दा भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button