बुधबार पनि संसदमा अनुपस्थित प्रधानमन्त्री, जवाफ दिने जिम्मा अर्थमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’ माथि उठेका प्रश्नको जवाफ नदिने भएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सदन बीचैमा छाडेर निस्केका शाहले बुधबार पनि संसदमा अनुपस्थिति जनाउने भएका हुन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। कार्यसूची अनुसार प्रधानमन्त्री शाहले नै सम्बोधन गर्ने तय भए पनि अन्तिम समयमा आएर उनले जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई सुम्पेका हुन्।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ११ बजेका लागि बोलाइएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका नेताले सरकारको लक्ष्य स्पष्ट नभएको भन्दै आलोचना गरिसकेका छन्।
यसअघि सोमबार संयुक्त सदनमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा उठेर बाहिरिएका थिए। उक्त कदमप्रति विपक्षी दलहरूका साथै सर्वसाधारणले समेत व्यापक आलोचना गरेका थिए। तथापि, प्रधानमन्त्री कार्यालय वा संसद् सचिवालयले यस विषयमा कुनै प्रस्टीकरण दिएको छैन।





