संसद् छाडेर मन्त्रिपरिषद बैठकतिर प्रधानमन्त्री, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार बिहान साढे १० बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले यसको जानकारी दिए।
मन्त्रिपरिषद् बैठक आह्वानसँगै प्रधानमन्त्री शाह बुधबारको प्रतिनिधिसभा बैठकमा पनि अनुपस्थित रहने भएका छन्। मन्त्रिपरिषद् बैठक र संसद् बैठकको समय लगभग एकै पर्न गएको छ। प्रतिनिधिसभाको बैठक ११ बजे सुरु हुँदै छ, जहाँ नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।
यसअघि सोमबार संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा उठेर बाहिरिएका थिए। उक्त घटनापछि विपक्षी दल र सर्वसाधारणबाट व्यापक आलोचना भएको थियो। बुधबार पनि उनले संसद् बैठकमा उपस्थित नभई मन्त्रिपरिषद् बैठकलाई प्राथमिकता दिएका छन्।





