‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : बालेन सरकारले असमान सन्धि र सीमा समस्याबारे स्पष्ट अडान राख्नुपर्छ’

काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकर नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको निमन्त्रणामा छिट्टै नेपाल भ्रमणमा आउँदै छन्। उक्त भ्रमणलाई लिएर चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले नेपाल सरकारलाई सचेत रहन आग्रह गर्दै भारतसँगको असमान सन्धि, सीमा समस्या र सार्वभौमसत्ताका विषयमा स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।
रेग्मीले भनेका छन्, “भारतीय विदेशमन्त्री खारिएका कूटनीतिज्ञ हुन्। उनले सम्भवतः प्रधानमन्त्री मोदीको निमन्त्रणा बोकेर आउनेछन् र प्रधानमन्त्री बालेनलाई भेट्नेछन्। उनको प्रयास सबैलाई थामथुम पार्ने, मुखमा बुझो लगाउने र विश्वको छैठौं ठूलो अर्थतन्त्र भएको देशले लगानीको लोभ देखाउने खालको हुन सक्छ।” उनले जयशंकरले प्रधानमन्त्री बालेनमाथि प्रभाव पार्न ‘हिन्दु कार्ड’ समेत खेल्न सक्ने आशंका व्यक्त गरे।
चीन अध्ययन केन्द्रका अध्यक्ष रेग्मीले भारतीय पक्षले नेपाल–भारत सम्बन्ध यथास्थितिमा राख्न खोज्ने, सीमा यथावत राख्ने तर १० गजामा बाँध बाँधेर नेपाली भूभाग डुबानमा पार्ने, भारतले कब्जा गरेको भूमि र प्रबुद्ध वर्गको प्रतिवेदनबारे झालेमाले कुरा गर्ने प्रयास गर्ने बताए। “मुख्यतः उनको प्रयास बदलिँदो विश्व व्यवस्थामा चीनको स्थान अमेरिकाको हाराहारीमा पुगेको वा माथि पुगेको कुरा बालेन सरकारले नबुझेको ठानेर कुरा गर्ने खालको हुनेछ,” उनले भने।
रेग्मीले यस सन्दर्भमा नेपाल सरकारले भारतीय पक्षसामु स्पष्ट रूपमा राख्नुपर्ने एजेन्डाहरू पनि औंल्याएका छन्। उनका अनुसार भारतले गर्दा नेपालमाथि परेका विभिन्न समस्या र बढ्दो दुःखबारे जानकारी गराउनुपर्छ। साथै, असमान सन्धिहरूको खारेजी र समान हितको बनाउने, पेन्सन क्याम्प र भर्ती केन्द्रहरू बन्द गराउने, नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता र स्वतन्त्रताप्रति सम्मान गर्न आग्रह गर्नुपर्छ। चीनसँग पनि भारतजस्तै समान सम्बन्ध लागू हुने कुरा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। नेपालबाट भारत जान राहदानी चाहिने वा सीमामा पाउने गरी लिखित अनुमतिपत्रको व्यवस्था दुवैतर्फ हुनुपर्ने माग पनि उनले राखेका छन्।
“यस सम्बन्धमा कसैले मसँग कुराकानी गर्न चाहेमा म तत्पर छु, सरकारलाई सहयोग गर्न तयार छु। मलाई नेपाल–चीन सम्बन्धमा सामान्य जानकारी छ, अहिलेको नयाँ पुस्तालाई जस्तो ज्ञान छैन,” रेग्मीले थपे।





