३० बैशाख २०८३, बुधबार

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै सदन अवरुद्ध, सभामुखले मागे सहयोग

काठमाडौं । प्रतिनिधिसभाकी सांसद पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग रुलिङको आग्रह गरेकी छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले सदन सञ्चालनमा निरन्तर अवरोध गरिरहेका छन्।

प्रतिनिधिसभाको बैठक सुरु भएसँगै प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसद्मा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै उभिएर अवरोध गरिरहेका छन्। सभामुख अर्यालले सदन सञ्चालन गर्न सहयोग गर्न बारम्बार आग्रह गरिरहेका छन्। १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टाभन्दा बढी समयपछि मात्र सुचारु भएको छ।

यसैबीच, आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधनका लागि ३५ वटा प्रस्ताव परेको सभामुख अर्यालले जानकारी दिए।

उता, सभामुख अर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्। बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मंगलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए। सांसद खनालले धारणा राखेलगत्तै एमाले सांसद ऐन महरले विरोध जनाएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button