३० बैशाख २०८३, बुधबार

दोस्रोपटक बैठक स्थगित, प्रधानमन्त्रीकै उपस्थितिमा अड्कियो संसद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक दोस्रोपटक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बुधबार अपराह्न बैठक स्थगितको घोषणा गरेका हुन्।

प्रतिनिधिसभा बैठक सुरु भएसँगै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसद्मा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै उभिएर अवरोध गरेका थिए। प्रतिपक्षी सांसदहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने मागसहित सदन सञ्चालन हुन नदिएपछि सभामुखले बारम्बार सहयोगको आग्रह गरिरहेका छन्।

यसअघि १५ मिनेटका लागि स्थगित गरिएको बैठक एक घण्टाभन्दा बढी समयपछि सुचारु भएको थियो। तर, प्रतिपक्षले पुनः अवरोध जारी राखेपछि अर्कोपटक पनि बैठक स्थगित गर्नुपरेको हो।

प्रतिनिधिसभाकी सांसद पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरेकी छन्।

यसैबीच, आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधनका लागि ३५ वटा प्रस्ताव परेको सभामुख अर्यालले जानकारी दिए।

उता, सभामुख अर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापाले मंगलबार व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले उक्त धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेपछि सभामुखले यस्तो निर्देशन दिएका हुन्। सांसद खनालको मागपछि एमाले सांसद ऐन महरले विरोध जनाएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button