सभामुखद्वारा प्रधानमन्त्रीसँग संवादको आश्वासनपछि संसद् सुचारु, छलफल भने अझै सुरु भएन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिका कारण प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध भएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीसँग संवाद गर्ने आश्वासन दिएका छन्। उनले सदनलाई सञ्चालन हुन दिन आग्रह गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।
यसअघि प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै पटकपटक सदन अवरुद्ध गरेका थिए। लगातारको अवरोधपछि बैठक दुईपटक स्थगित गरिएको थियो। बुधबार अपराह्न सत्ता पक्ष र विपक्षी सांसदहरूसँग सभामुख अर्यालले छलफल गरेपछि मात्र बैठक सुचारु भएको हो।
यद्यपि, बैठक सुचारु भए पनि नीति तथा कार्यक्रममाथिको छलफल भने अझै सुरु हुन सकेको छैन। प्रधानमन्त्री शाहले सोमबार र बुधबार दुवै दिन संसद् बैठकमा अनुपस्थिति जनाएका थिए। सोमबार संयुक्त सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचैमा सदन छाडेर निस्केको घटनापछि उनी विपक्षीको निसानामा छन्।





