३० बैशाख २०८३, बुधबार

सटर भाडाकै रकम हिनामिना, सुर्खेत उपत्यका विकास समितिका पूर्वपदाधिकारीसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरूसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सटर कभल भाडाबापतको आम्दानी बुझिलिई बैंक दाखिला नगरी अनियमितता गरेको अभियोगमा उनीहरूमाथि मुद्दा चलाइएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ, तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२ रुपैयाँ र तत्कालीन सदस्य सचिव गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यस्तै, तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी पत्नी सीमाकुमारी चन्द क्षत्रीविरुद्ध २ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ र तत्कालीन सहलेखापाल खड्गबहादुर रानाविरुद्ध २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो दाबी गरिएको छ।

आयोगको अध्ययनअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको भाडा असुली रसिदबाट ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ आम्दानी भएको देखिन्छ। तर, सोमध्ये १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र बैंकमा दाखिला भएको पाइयो। बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंक दाखिला नगरी राजस्व हिनामिना गरेको खुलेको छ। सोही आधारमा अनुसन्धान गर्दा गैरकानुनी क्रियाकलाप भएको पुष्टि भएपछि आरोपीविरुद्ध मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button