प्रधानमन्त्रीकै अनुपस्थितिले तेस्रोपटक संसद स्थगित, बिहीबार पुनः बैठक बस्ने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले बुधबार तेस्रोपटक पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि बिहीबारका लागि स्थगित भएको छ। यसअघि बुधबार नै बसेका दुईवटा बैठकमा पनि विपक्षीहरूले लगातार अवरोध गरेका थिए।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने अडानका साथ विपक्षी सांसदहरूले पटकपटक सदन सञ्चालन हुन नदिएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बिहीबार बैठक बस्ने गरी बुधबारको कार्यसूची स्थगित गरेका छन्। सभामुखले पटकपटक सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीहरूले अवरोध जारी राखेका थिए।
प्रधानमन्त्री शाहले सोमबार संयुक्त सदनबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचैमा सदन छाडेको र बुधबार पनि संसद् बैठकमा अनुपस्थित रहेको घटनापछि उनी विपक्षीको निसानामा परेका हुन्।





