‘ट्रम्पलाई चीनमा भव्य स्वागत, प्रतिबन्धित रुबियो पनि सहभागी’

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आठ वर्षपछि चीनको तीन दिने राजकीय भ्रमणका लागि बुधबार बेइजिङ ओर्लिएका छन् ।
राष्ट्रपति ट्रम्पलाई लिएर एयर फोर्स वान विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा चिनियाँ सरकारले भव्य स्वागत गरेको थियो । उपराष्ट्रपति हान जेङ र कूटनीतिज्ञ सी फेङले विमानस्थलमा उनको स्वागत गरेका थिए भने नीलो र सेतो पोसाकमा उपस्थित करिब तीन सय बालबालिकाले दुवै देशको झण्डा फहराउँदै मन्डारिन भाषामा ‘वेलकम’ को नारा लगाएका थिए ।
ट्रम्पसँगै उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि भ्रमणमा सहभागी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीच बिहीबार र शुक्रबार छुट्टाछुट्टै चरणमा वार्ता हुने कार्यक्रम छ । दुई नेताबीच व्यापार, ताइवान, दुर्लभ खनिज, कृत्रिम बुद्धिमत्ता (एआई) र इरान युद्धलगायत विषयमा छलफल हुने सम्भावना छ ।
यस भ्रमणमा इलन मस्क, एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक र बोइङका प्रमुख कार्यकारी अधिकृतसहित १७ जना ठूला अमेरिकी व्यवसायी पनि सहभागी छन् । तर, चिप कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ भने सहभागी छैनन् । यस क्रममा इतिहासकै सबैभन्दा ठूलो नौ लाख करोड रुपैयाँभन्दा बढीको बोइङ विमान सम्झौता हुने सम्भावना छ ।
यसैबीच, ट्रम्पले वासिङ्टनबाट प्रस्थान गर्नुअघि पत्रकारहरूसँग इरान युद्ध समाप्त गर्न चीनको सहयोग आवश्यक नभएको बताए । ‘अमेरिकाले यो युद्ध जसरी पनि जित्नेछ,’ उनले भने । उनले अमेरिकी जनताको आर्थिक अवस्थाबारे नसोच्ने तर इरानसँग आणविक हतियार हुन नहुने बताए ।
भ्रमणको रोचक पक्ष के छ भने चीनले यसअघि प्रतिबन्ध लगाइसकेका अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भ्रमण दलमा सहभागी छन् । उनले सांसद हुँदा उइघुर मुसलमान र हङकङ मुद्दामा चीनको आलोचना गरेपछि बेइजिङले उनीमाथि प्रतिबन्ध लगाएको थियो । तर, अहिले चीनले रुबियोको नामको चिनियाँ भाषामा लेख्ने तरिका नै परिवर्तन गरेर पुरानो नाममा लागेको प्रतिबन्ध नयाँ नाममा लागू हुन नदिने जुक्ति निकालेको बताइएको छ ।
ह्वाइट हाउसका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति सीले ट्रम्पको सम्मानमा ग्रेट हल अफ द पिपलमा स्टेट डिनर आयोजना गर्नेछन् । यसलाई ठूलो कूटनीतिक सम्मान मानिन्छ । सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालको चीन भ्रमणका बेला पनि राष्ट्रपति सीले विशेष स्वागत कार्यक्रम राखेका थिए । कूटनीतिक विज्ञहरूले स्टेट डिनरमार्फत चीनले अमेरिकासँगको सम्बन्धलाई रणनीतिक स्तरमा महत्त्व दिइरहेको सन्देश दिन खोजेको बताएका छन् । ट्रम्प १५ मे सम्म बेइजिङमा रहनेछन् ।





