अमेरिकी वायुसेनाको सि–१७ विमान त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं । अमेरिकी वायुसेनाको एक विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
प्राप्त जानकारीअनुसार युएस एअरफोर्सको आरसिएच १८१५ कलसाइन भएको बोइङ सि–१७ ए ग्लोबमास्टर–३ विमान साँझ ७ बजे काठमाडौं ओर्लिएको हो। उक्त विमान क्याप्टेन निकोलसको कमाण्डमा १७ जना सवार रहेको बुझिएको छ।
विमानले किर्गिस्तान हुँदै पाकिस्तानको इस्लामावादबाट काठमाडौंसम्मको उडान मार्ग तय गरेको जनाइएको छ। यद्यपि, उक्त विमानको आगमनको उद्देश्य र नेपाल बसाइको अवधिबारे भने खुलाइएको छैन।
यसअघि पनि पटकपटक अमेरिकी सैन्य विमानहरू नेपाल आवतजावत गर्दै आएका छन्। सि–१७ ग्लोबमास्टर–३ विमान मुख्यतया सैन्य ढुवानी, उद्धार तथा मानवीय सहायता सञ्चालनका लागि प्रयोग हुने गरेको छ।





