१४ असार २०८३, आईतवार

पाँचथरका ६ विद्यालयको एसईई नतिजा शून्य, याङवरकको उत्तीर्ण दर २६ प्रतिशतमात्र

पाँचथर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सार्वजनिक नतिजामा पाँचथर जिल्लाका ६ वटा विद्यालयको नतिजा शून्य देखिएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

फिदिम नगरपालिकाको कालिका मावि साम्दिनबाट ८ जना विद्यार्थी परीक्षामा सहभागी भए पनि कोही पनि ग्रेडेड हुन नसकेको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि यस विद्यालयको नतिजा शून्य नै थियो । यस्तै, फाल्गुनन्द गाउँपालिका–३ को सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भए तापनि एक जना पनि उत्तीर्ण भएनन् ।

मिक्लाजुङ गाउँपालिकाका तीन विद्यालयको नतिजा पनि शून्य रह्यो । खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट ६ जना, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा कसैलाई पनि उत्तीर्ण गराउन यी विद्यालय असफल रहे । फालेलुङ गाउँपालिका–३ को सरस्वती मावि ताङलेपाबाट परीक्षामा सहभागी ४ जना विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन्, जुन ४९ प्रतिशत हो । प्राविधिक धारतर्फ १२२ जना सहभागी भएकामा ६२ जना उत्तीर्ण भएका छन् भने जिल्लाबाट दुई जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् ।

हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट २४८ जना परीक्षामा सहभागी भएकामा १३४ जना ग्रेडेड भई ५४ प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ । यहाँको नीलगिरि माविले १७ मध्ये १६ जनालाई उत्तीर्ण गराउन सफलता पाएको छ । कुम्मायक गाउँपालिकाका पाँच विद्यालयबाट १६० जना सहभागी भएकामा ६३ जना मात्र उत्तीर्ण हुँदा उत्तीर्ण दर ३९ प्रतिशतमा सीमित रह्यो ।

जिल्लाकै सबैभन्दा कमजोर नतिजा याङवरक गाउँपालिकाको देखिएको छ । यहाँका ७ वटा विद्यालयबाट २४३ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा जम्मा ६५ जना मात्र ग्रेडेड भए, जुन २६ प्रतिशत मात्र हो । यसको विपरीत, तुम्बेवा गाउँपालिकाले ६२ प्रतिशत उत्तीर्ण दरका साथ सन्तोषजनक नतिजा निकालेको छ । यहाँका ६ विद्यालयबाट १५४ जना सहभागी भएकामा ८६ जना उत्तीर्ण भए । इन्द्रावती माविले २८ मध्ये २६ जनालाई उत्तीर्ण गराउन सफलता प्राप्त गरेको छ ।

फिदिम नगरपालिकाका २० सामुदायिक माध्यमिक विद्यालयबाट ६०० जना विद्यार्थी परीक्षामा सहभागी हुँदा २६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो । फिदिमकै पाँच संस्थागत विद्यालयबाट १२९ जना सहभागी भएकामा १०६ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्लिस स्कुल फिदिम–८ बाट परीक्षामा सहभागी सबै ९ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।

सरस्वती मावि चोकमागूबाट ४१ जना सहभागी भएकामा जम्मा एक जना मात्र उत्तीर्ण हुँदा रानीटार माविले भने २८ मध्ये २६ जनालाई उत्तीर्ण गराउन सफलता पाएको छ ।

फाल्गुनन्द गाउँपालिकाका दुई संस्थागतसहित १३ विद्यालयबाट ३०४ जना परीक्षामा सहभागी भएकामा १७१ जना ग्रेडेड भएका छन् । फाल्गुनन्दकै सिद्धदेवी मावि नवमीडाँडाबाट ३२ मध्ये २९ जना र सिद्धेश्वरी माविबाट सहभागी सबै ४ जना उत्तीर्ण भए । संस्थागततर्फ पाथीभरा इङ्लिस बोर्डिङ स्कुलबाट सहभागी सबै १६ जना विद्यार्थीले सफलता हात पारेका छन् ।

मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र ४ संस्थागत गरी १४ विद्यालयबाट १९९ जना परीक्षामा सहभागी भएकामा १२० जना ग्रेडेड भएका छन्, जुन ६० प्रतिशत हो । यहाँको सिंहदेवी मावि मिक्लाजुङ–५ बाट सहभागी सबै ५ जना विद्यार्थी उत्तीर्ण भए । फालेलुङ गाउँपालिकाका १३ विद्यालयबाट १५४ जना सहभागी भएकामा ७८ जना ग्रेडेड भई उत्तीर्ण दर ५० प्रतिशत रहेको छ । यहाँका ६ विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने सरस्वती मावि खुङ्गाबाट १५ मध्ये १४ जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख कृष्ण रिमालले जानकारी दिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button