हुम्लामा २५ प्रतिशतभन्दा बढी किशोरी १९ वर्ष नपुग्दै सुत्केरी, अशिक्षा र गरिबी प्रमुख कारक

हुम्ला । हिमाली जिल्ला हुम्लाका २५ प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। उमेर नपुगी विवाह गर्ने चलन बढ्दै जाँदा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा जिल्लाभर वृद्धि हुँदै गएको हो।
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी तथ्यांक सहायक दुर्गा श्रेष्ठका अनुसार जिल्लाका सातवटै गाउँपालिकामा आर्थिक वर्ष २०८२ को साउनदेखि चैत मसान्तसम्म २५.२५ प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएका छन्। यो अवधिमा जिल्लाभर ५९४ जना सुत्केरी भएकोमा १५० जना १९ वर्षमुनिका किशोरी रहेको उनले जानकारी दिइन्।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १३७ जना रहेको थियो भने त्यसअघिको वर्षमा १०७ जना किशोरी मात्र रहेका थिए। चालु आर्थिक वर्षका तीन महिना अझै बाँकी रहेकाले यो आँकडा थप बढ्ने देखिन्छ। २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको संख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ४० जना रहेको छ भने नाम्खा गाउँपालिकामा यो संख्या शून्य छ।
पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको संख्या घट्नुको साटो झन् बढिरहेको छ। उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउनुको मुख्य कारण अशिक्षा र गरिबीलगायतका समस्या रहेको जनाइएको छ। यसैको प्रत्यक्ष नकारात्मक असरका रूपमा बालबालिकामा कुपोषण देखिनु प्रमुख कारण रहेको श्रेष्ठको भनाइ छ। सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माएर पोषणमा ध्यान नदिने समस्याले हुम्लाका बालबालिकामा कुपोषणको अवस्था गम्भीर बन्दै गएको छ।





