हुम्लाका ६ गाउँपालिकामा एक वर्षपछि नुन वितरण, प्रतिकेजी ९ रुपैयाँमा बिक्री

हुम्ला । नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हुम्ला जिल्लाका ६ वटा गाउँपालिकामा एक वर्षपछि ढुवानी अनुदानको नुन बिक्री वितरण गरेको छ। कर्पोरेशनको हुम्ला शाखाका प्रमुख राजबहादुर लामाका अनुसार आफ्नो प्रत्यक्ष उपस्थितिमा स्थानीय बासिन्दालाई घरदैलोमै पुगेर नुन वितरण गरिएको हो।
हालसम्म चङ्खेली गाउँपालिकामा ४७० क्विन्टल, सर्केगाड गाउँपालिकामा ६०० क्विन्टल र नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन वितरण गरिएको छ। यसैगरी, झण्डै ६ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका स्थानीयलाई शाखा कार्यालयबाट एक हजार ७९८.५० क्विन्टल नुन बिक्री वितरण गरिएको हो।
ताँजाकोट गाउँपालिकालाई ४३१ क्विन्टल नुन वितरण गरिएको छ। यी गाउँपालिकाका स्थानीयलाई जनसंख्याको आधारमा २५ देखि ५० केजीसम्म नुन बिक्री गरिएको शाखा प्रमुख लामाले बताए। अदानचुली गाउँपालिकामा भने हालसम्म नुन नपुगेको र ढुवानीको जिम्मा पाएको सप्लायर्सले आधा नुन गाउँपालिका केन्द्रमा ढुवानी गरिसकेको जनाइएको छ। बाँकी नुन ढुवानी भएपछि आफू गाउँपालिका पुगेर बिक्री गर्ने लामाले जानकारी दिए।
हुम्लाका स्थानीयले कर्पोरेशनको ढुवानी अनुदानको उक्त नुन प्रतिकेजी ९ रुपैयाँमा खरिद गर्दै आएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६ हजार १३० क्विन्टल नुन माग गरिएको शाखाले जनाएको छ।





