कर्णालीको विद्युत संकटपछि प्रसारण टावर पुनर्निर्माण तीव्र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा ढलेका दुई विद्युत प्रसारण टावरका कारण कर्णाली प्रदेशमा उत्पन्न विद्युत संकटप्रति चासो व्यक्त गरेका छन्।
बुधबार मन्त्री श्रेष्ठले क्षतिग्रस्त टावरको मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्र बनाउन र घटनाको सत्यतथ्य छानबिन प्रक्रिया छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर–सुर्खेत १३२ केभी लाइनका दुई वटा टावर पूर्ण रूपमा ढलेका थिए।
घटनापछि मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग निरन्तर समन्वय गर्दै विद्युत् सेवा यथाशीघ्र पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। साथै, घटनाबारे विस्तृत अध्ययन गर्न नेपाल विद्युत प्राधिकरणले ग्रिड अपरेशन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो। प्रारम्भिक प्राविधिक निरीक्षणका क्रममा टावरको जग नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएकाले मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्न सक्ने अनुमान गरिएको छ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत समस्या समाधानका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। आयोजना पूर्ण सञ्चालनमा आउनुअघि नै प्राकृतिक प्रकोपका कारण भएको क्षतिले प्रदेशको ऊर्जा सुरक्षामा थप चुनौती सिर्जना गरेको बताइएको छ।
मन्त्री श्रेष्ठले मर्मत कार्यलाई उच्च प्राथमिकतामा राखेर युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।





