“ट्रम्प सी पुगे, हामीकहाँ संसदमै प्रधानमन्त्री पुग्दैनन्” : पत्रकार मल्लको व्यंग्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेर राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरिसक्दा पनि नेपालमा भने प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मबीचको दूरी नै नजोडिएको भन्दै पत्रकार कृष्ण मल्लले व्यंग्य गरेका छन् ।
मल्लले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र आक्रोशलाई व्यंग्यात्मक शैलीमा यसरी पोखेका छन्– ‘ट्रम्प चाइना पुगिसके, सी चिनफिङलाई भेटिसके, हामीकहाँ प्रधानमन्त्री संसद पुग्दैनन्। गगनको शेखर र पूर्णसँग भेट हुँदैन, बालेन र रविको भेट हुँदैन, ओली र ईश्वरको भेट हुँदैन।’
मल्लको सूची यति मात्र सकिँदैन– ‘प्रचण्ड र वैद्यको भेट हुँदैन, आईजीपी र जवानको भेट हुँदैन, प्रधानसेनापति र सिपाहीको भेट हुँदैन, प्रधानन्यायाधीश र न्यायाधीशको भेट हुँदैन, पार्टी प्रमुख र कार्यकर्ताको भेट हुँदैन, हाकिमको कर्मचारीसँग भेट हुँदैन।’
उनले थप्दै लगे– ‘बाउआमाको छोराछोरीसँग भेट हुँदैन, प्रेमी–प्रेमिकाको भेट हुँदैन, श्रीमान–श्रीमतीको भेट हुँदैन, भाडावालको घरपेटीसँग भेट हुँदैन। हुँदाहुँदा दालभातसँग भेट हुँदैन, आफ्नै मन–मष्तिष्कको भेट हुँदैन, इन्द्रियहरूको भेट हुँदैन। यतिसम्म कि मृत्युसँग पनि भेट हुँदैन।’
पत्रकार मल्लले आफ्नो लामो सूचीको अन्त्यमा प्रश्न गरेका छन्– ‘यो नानाथरी र नौटङ्की चाहिँ किन हो के ?’ उनको यो अभिव्यक्तिले वर्तमान राजनीतिक तथा सामाजिक विचलनप्रतिको गहिरो असन्तुष्टिलाई संकेत गर्छ।





