५ असार २०८३, शुक्रबार

९ वर्षपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, सी–ट्रम्प वार्ताले कोर्नेछ द्विपक्षीय सम्बन्धको खाका

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ तीन दिने राजकीय भ्रमणका लागि बेइजिङ ओर्लिएका छन् । झण्डै ९ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिले चीनको राजकीय भ्रमण गरेको हो भने ट्रम्पको यो सन् २०१७ को नोभेम्बरपछिको दोस्रो चीन भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प मे १३ देखि १५ सम्म चीनमा रहने सिन्ह्वा समाचार संस्थाले जनाएको छ । बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा चिनियाँ उपराष्ट्रपति हान जेङले ट्रम्पको स्वागत गरेका थिए ।

अमेरिका प्रस्थान गर्नुअघि ट्रम्पले पत्रकारहरूलाई ‘चीनमा राम्रा कुरा हुनेछन्’ भनी बताएको एसोसिएटेड प्रेसलाई उद्धृत गर्दै चाइना न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले राष्ट्रप्रमुखस्तरीय कूटनीतिले चीन–अमेरिका सम्बन्धमा रणनीतिक मार्गदर्शन प्रदान गर्न अपरिवर्तनीय भूमिका खेल्ने बताए ।

भ्रमणका क्रममा दुई राष्ट्रप्रमुखबीच चीन–अमेरिका सम्बन्ध र विश्व शान्ति तथा विकासका प्रमुख विषयमा गहन विचार आदानप्रदान हुने प्रवक्ता गुओले जानकारी दिए । चीनले समानता, सम्मान र पारस्परिक लाभको भावनामा सहकार्य विस्तार र मतभेद व्यवस्थापन गर्न अमेरिकासँग काम गर्न तयार रहेको उनको भनाइ छ ।

व्यवसायी प्रतिनिधिमण्डलमा एनभिडिया प्रमुखको अन्तिम समयमा सहभागिता

ट्रम्पको भ्रमण दलमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक, ब्ल्याकरकका ल्यारी फिंक, बोइङका केली ओर्टबर्ग र ब्ल्याकस्टोनका स्टेफन स्वार्ट्जम्यानलगायत ठूला अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी छन् । रोचक पक्ष के छ भने एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङ अलास्कामा इन्धन भर्ने क्रममा अप्रत्याशित रूपमा एयर फोर्स वानमा चढेर भ्रमण दलमा सामेल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उनी भ्रमण दलमा नरहने खबर आएको थियो ।

सन् २०१७ को भ्रमणको तुलनामा यसपटक अमेरिकी प्रतिनिधिमण्डलमा उच्च प्रविधि र वित्तीय कम्पनीहरूको बाक्लो उपस्थितिले यी क्षेत्रमा दुवै पक्षले दिएको महत्त्वको स्पष्ट संकेत गरेको चिनियाँ विश्लेषकहरूले बताएका छन् । अमेरिकन चेम्बर अफ कमर्स इन चाइनाको एक प्रतिवेदनअनुसार ५० प्रतिशत अमेरिकी कम्पनीले चीनलाई शीर्ष तीन वैश्विक लगानी गन्तव्यमा राखेका छन् भने ७९ प्रतिशतले सन् २०२६ मा चीन–अमेरिका सम्बन्धप्रति सकारात्मक वा तटस्थ दृष्टिकोण राखेका छन् ।

आर्थिक वार्तादेखि ताइवान प्रश्नसम्म

एयर फोर्स वान बेइजिङतर्फ उडिरहँदा चिनियाँ र अमेरिकी प्रतिनिधिमण्डलले दक्षिण कोरियामा बुधबार आर्थिक तथा व्यापारिक विषयमा स्पष्ट, गहन र रचनात्मक आदानप्रदान गरेको सिन्ह्वाले जनाएको छ । चिनियाँ उपप्रधानमन्त्री ही लिफेङ र अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टबीच भएको यो वार्ता दुई राष्ट्रप्रमुखबीचको महत्वपूर्ण सहमतिद्वारा निर्देशित थियो ।

विश्लेषकहरूका अनुसार ताइवान प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा बनेको छ । फुदान विश्वविद्यालयका डीन वू शिन्बोले ताइवान चीनको मूल हितको केन्द्रमा रहेको र यसले चीन–अमेरिका सम्बन्धलाई समेत प्रभावित पार्ने बताएका छन् ।

द्विपक्षीयदेखि वैश्विक महत्वसम्म

सन् २०१७ को ट्रम्पको पहिलो चीन भ्रमणको तुलनामा अहिले दुवै देश र अन्तर्राष्ट्रिय परिदृश्यमा ठूलो परिवर्तन आइसकेको छ । सिंघ्वा विश्वविद्यालयका निर्देशक दा वेईले सन् २०१७ नवउदारवादी भूमण्डलीकरणको अन्त्यतिरको समय भएको र सन् २०२६ मा चीन र अमेरिका बहुध्रुवीय विश्वका दुई प्रमुख शक्तिका रूपमा रहेको बताएका छन् । पिपुल्स डेलीले मंगलबार प्रकाशित एक लेखमा चीन–अमेरिका सम्बन्ध पुरानो अवस्थामा फर्कन नसके पनि उज्ज्वल भविष्यतर्फ अग्रसर हुन सक्ने उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले चीन र अमेरिका विश्वका दुई मुख्य आर्थिक शक्ति भएकाले उनीहरूबीच आर्थिक नीतिगत मतभेद समाधानको कुनै पनि उपाय विश्वकै लागि लाभदायक हुने बताएका छन् । पेकिङ विश्वविद्यालयका कार्यकारी निर्देशक वाङ डोङले प्रतिस्पर्धाले सहअस्तित्व र मतभेदले सहकार्यलाई प्रतिस्थापन गर्न नसक्ने बताउँदै तर्कसंगत संवाद र व्यवहारिक समन्वय नै दुवै पक्षका लागि दिगो विकल्प भएको धारणा राखेका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button