२० असार २०८३, शनिबार

दक्षिण कोरियाली राष्ट्रपतिसँग चिनियाँ उपप्रधानमन्त्रीको भेट, द्विपक्षीय सम्बन्ध सुधारको नयाँ चरणमा

सियोल । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले बुधबार सियोलस्थित राष्ट्रपति कार्यालयमा चिनियाँ उपप्रधानमन्त्री ही लिफेङसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उपप्रधानमन्त्री हीले गत वर्षको अन्त्यदेखि चीन र दक्षिण कोरियाका राष्ट्रप्रमुखबीच पारस्परिक भ्रमण भएको र यसले द्विपक्षीय सम्बन्धलाई सुधार तथा विकासको नयाँ चरणमा पुर्याएको बताए । दुई नेताबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न, सञ्चार सुदृढ गर्न, आपसी विश्वास अभिवृद्धि गर्न र रणनीतिक सहकार्यात्मक साझेदारीको प्रभावकारी संरक्षण तथा विकास गर्न चीन दक्षिण कोरियासँग काम गर्न इच्छुक रहेको उनको भनाइ छ ।

दक्षिण कोरियाली राष्ट्रपति लीले अर्थतन्त्र र जनस्तरीय आदानप्रदानलगायत विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्य पछिल्लो समय सक्रिय रहेको बताए । दुवै पक्षले आदानप्रदान र सहकार्यलाई थप सुदृढ गर्दै दुई जनताबीचको मित्रता प्रगाढ बनाउन र सम्बन्धको विकासले दुवै जनतालाई लाभान्वित गर्नुका साथै क्षेत्रीय शान्ति र स्थिरतामा महत्वपूर्ण भूमिका खेल्ने आशा उनले व्यक्त गरे ।

सोही भ्रमणका क्रममा उपप्रधानमन्त्री हीले मंगलबार दक्षिण कोरियाका उपप्रधानमन्त्री एवं अर्थतन्त्र तथा वित्तमन्त्री कू युन–चोलसँग पनि भेट गरेका थिए । दुई पक्षबीच द्विपक्षीय आर्थिक तथा व्यापारिक सहकार्य सुदृढ गर्ने विषयमा गहन विचार आदानप्रदान भएको थियो ।

यसैबीच, गत अप्रिल ६ देखि १० सम्म सियोलमा चीन–कोरिया स्वतन्त्र व्यापार सम्झौताको दोस्रो चरणको १४ औं चरणको वार्ता सम्पन्न भएको थियो । वार्तामा सीमापार सेवा व्यापार, लगानी, वित्तीय सेवा र नकारात्मक सूचीसम्बन्धी विषयमा गहन छलफल भएको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।

चिनियाँ तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म दुई देशबीचको व्यापार २९८.९ अर्ब डलर पुगेको छ । गत नोभेम्बरको अन्त्यसम्म चीनमा दक्षिण कोरियाको संचित वास्तविक लगानी १०४.६५ अर्ब डलर पुगिसकेको छ । लियाओनिङ एकेडेमी अफ सोसल साइन्सेजका प्राध्यापक लु चाओले चीन र दक्षिण कोरियाबीचको सम्बन्ध अहिले पुनरुत्थानको चरणमा रहेको बताएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button