चिनियाँ व्यापार संघहरूद्वारा युरोपेली संघको साइबर सुरक्षा कानुन संशोधनको कडा विरोध, ‘असुरक्षित हैन, असुरक्षा निम्त्याउने’ भन्दै चेतावनी

बेइजिङ । युरोपेली संघ (इयू) मा कार्यरत विभिन्न चिनियाँ व्यापार संघहरूले ब्लकको साइबर सुरक्षा ऐनको प्रस्तावित संशोधन (सीएसए२) को कडा विरोध गरेका छन्। चीन चेम्बर अफ कमर्स टु द इयू (सीसीसीइयू) ले उक्त संशोधनले सामान्य बजार सञ्चालनमा अवरोध पुर्याउने, इयूकै हरित तथा डिजिटल रूपान्तरण कमजोर बनाउने र चीन–इयू आर्थिक सम्बन्धमा क्षति पुर्याउने चेतावनी दिएको छ।
सीसीसीइयूले बुधबार सार्वजनिक विज्ञप्तिमा साइबर सुरक्षा सुदृढीकरण र महत्वपूर्ण पूर्वाधारको संरक्षण समानुपातिक, जोखिममा आधारित, प्रमाणमा आधारित र प्रविधिमा तटस्थ नियामक दृष्टिकोणबाट हुनुपर्ने धारणा राखेको छ। चिनियाँ व्यापार संघले हालको प्रस्तावका केही प्रावधानले पारदर्शी र प्रमाणमा आधारित जोखिम मूल्यांकन पद्धतिबिना नै अत्यधिक व्यापक प्रतिबन्धात्मक उपाय ल्याउन सक्ने चिन्ता व्यक्त गरेको छ।
युरोपेली आयोगले गत जनवरीमा नयाँ साइबर सुरक्षा प्याकेज प्रस्ताव गरेको थियो, जसले महत्वपूर्ण पूर्वाधारमा ‘उच्च जोखिम आपूर्तिकर्ता’ का उपकरण चरणबद्ध रूपमा हटाउने लक्ष्य राखेको छ। यसलाई चिनियाँ कम्पनीहरूलाई लक्षित गर्ने इयूको संरक्षणवादी औजारको अंशका रूपमा व्यापक रूपमा हेरिएको छ।
सीसीसीइयूसहित पोल्याण्ड, स्पेन र इटालीस्थित चिनियाँ व्यापार संघहरूले पनि हालैका दिनमा चिन्ता व्यक्त गरेका छन्। स्पेनस्थित चिनियाँ व्यापार संघ सीसीआईएनसीईले सोमबार जारी विज्ञप्तिमा खुला, निष्पक्ष र पूर्ण प्रतिस्पर्धी बजार नै युरोपको दीर्घकालीन औद्योगिक प्रतिस्पर्धाको जग भएको उल्लेख गर्दै सुरक्षाको नाममा विशिष्ट आपूर्तिकर्तालाई बहिष्कार गर्नुले तथाकथित सुरक्षाका लागि बजार दक्षता र प्राविधिक विविधताको बलिदान दिने बताएको छ।
चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्सका उपाध्यक्ष झाङ जियानले इयूका यी कदमले चीन–इयू सम्बन्धमा मात्र नभई युरोपेली व्यवसायको हितमा पनि गम्भीर क्षति पुर्याउने बताए। चीनको मेसिनरी तथा इलेक्ट्रोनिक उत्पादन आयात–निर्यात व्यापार संघ (सीसीसीएमई) ले पनि हालको संशोधित मस्यौदामा ‘गैर–प्राविधिक जोखिम’ को अवधारणा भित्र्याउनु विशिष्ट देश र कम्पनीलाई लक्षित गर्ने अरचनात्मक कदम भएको जनाएको छ।
यसैबीच, सीसीसीइयू र केपीएमजीले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनअनुसार १८ महत्वपूर्ण क्षेत्रमा चिनियाँ आपूर्तिकर्तालाई प्रतिस्थापन गर्नुपरे सीएसए२ को मूल्य करिब ३६७.८ अर्ब युरो पर्न सक्ने अनुमान गरिएको छ। पूर्व इटालियन उपसचिव मिसेल गेराचीले चीन निरन्तर खुला हुँदै जाँदा युरोप भने बढी बन्द हुँदै गएकोप्रति विडम्बनापूर्ण टिप्पणी गरेका छन्।
चीनले इयूलाई चीन–इयू आर्थिक तथा व्यापारिक सम्बन्धलाई व्यापक, वस्तुगत र सकारात्मक रूपमा हेर्न आग्रह गर्दै विश्व व्यापार संगठनको नियम र बजार सिद्धान्तको पालना गर्न आह्वान गरेको छ। फुदान विश्वविद्यालयका निर्देशक जियान जुन्बोले ‘डिकपलिङ’ र ‘डि–रिस्किङ’ को धारणा न व्यवहारिक रहेको न टिकाउ रहेको बताउँदै स्वस्थ चीन–इयू सम्बन्ध वास्तविक बहुपक्षीयताको संरक्षण र दिगो वृद्धिका लागि अपरिहार्य रहेको धारणा राखे।





