लगानीको खुला ढोका : २६ औं सिफिटमार्फत चीनले दियो विश्वलाई सकारात्मक संकेत

बेइजिङ । चीनको वाणिज्य मन्त्रालय (मोफ्कम) ले बुधबार २६ औं चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला (सिफिट) को प्रवर्द्धन सम्मेलन आयोजना गर्दै उच्चस्तरीय खुलापन विस्तार र वैदेशिक लगानी स्थिरीकरणप्रतिको निरन्तर प्रतिबद्धताको सकारात्मक संकेत दिएको छ ।
सेप्टेम्बर ८ देखि ११ सम्म पूर्वी चीनको फुजियान प्रान्तस्थित सियामेनमा हुने यस वर्षको मेलाको मूल नारा ‘द्विपक्षीय लगानी विस्तार र विश्वव्यापी विकास प्रवर्द्धन’ रहनेछ । ‘चीनमा लगानी’, ‘चीनको लगानी’ र ‘अन्तर्राष्ट्रिय लगानी’ गरी तीन प्रमुख खण्डमा केन्द्रित यस मेलाले अन्तर्राष्ट्रिय लगानी सहकार्यमा थप व्यवहारिक उपलब्धि हासिल गर्ने मोफ्कमका एक अधिकारीले जानकारी दिए ।
प्रवर्द्धन सम्मेलनमा सहभागी विभिन्न देशका सरकारी तथा व्यावसायिक प्रतिनिधिले सिफिटलाई चीनसँग लगानी सहकार्य प्रगाढ बनाउने माध्यमका रूपमा प्रयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । क्यानडा चीन बिजनेस काउन्सिल बेइजिङका प्रमुख प्रतिनिधि डेभिड पेरेज–देस रोजियर्सले क्यानडाली प्रधानमन्त्रीको चीन भ्रमणपछि ऊर्जा, काठजन्य उत्पादन, उपभोक्ता वस्तु र कृषि–खाद्यलगायत क्षेत्रमा लगानी वा व्यापारका लागि सहकार्यका क्षेत्र पहिचान भएको बताए । आगामी सिफिट क्यानडाली व्यवसायलाई चिनियाँ बजारमा लगानीका नयाँ अवसरबारे जान्ने राम्रो अवसर हुने उनको भनाइ छ ।
अजरबैजानको चीनस्थित दूतावासका व्यापार प्रतिनिधि कार्यालयका प्रमुख सल्लाहकार नातिग खालिलोभले यस प्लेटफर्ममार्फत नयाँ साझेदार पहिचान गरी थप उत्कृष्ट चिनियाँ कम्पनीलाई अजरबैजानमा उत्पादन केन्द्र स्थापनाका लागि आकर्षित गर्ने लक्ष्य रहेको बताए । चिनियाँ अटोमेकर बीवाइडीले अजरबैजानमा विद्युतीय बस उत्पादन प्लान्ट स्थापना गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले थप विद्युतीय सवारी उत्पादकसँग सहकार्यको चाहना व्यक्त गरे ।
मौरिससका राजदूत गाइटन सिउ हे सामले चीन र अफ्रिकी बजारबीचको सम्बन्धमा मौरिससले पुलको भूमिका खेलिरहेको बताए । बैंक अफ चाइनालगायत चिनियाँ कम्पनीले मौरिससमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेका छन् । चीनले कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकलाई शून्य भन्सार सुविधा विस्तार गरेसँगै मौरिससले वित्त, रसद र क्षेत्रीय सेवाको क्षमतामार्फत अफ्रिकी देश र चिनियाँ बजारबीचको व्यापार तथा लगानी सम्पर्क प्रवर्द्धन गर्ने आशा राजदूतले व्यक्त गरे ।
विश्व व्यापारमा जारी अनिश्चितताका बीच चीनको खुलापन विस्तारको प्रयासले अन्तर्राष्ट्रिय व्यापार समुदायको ध्यान तानेको छ । मोफ्कमको तथ्यांकअनुसार १४ औं पञ्चवर्षीय योजना अवधि (सन् २०२१–२५) मा चीनले ७५० अर्ब डलरभन्दा बढी वैदेशिक लगानी उपयोग गरेको छ भने चीनको बाह्य लगानी विश्वका १९० देश र क्षेत्रमा पुगेको छ । चीनले विदेशी लगानी प्रवेशको नकारात्मक सूची निरन्तर छोट्याउँदै उत्पादन क्षेत्रमा विदेशी लगानीकर्ताका लागि सबै बजार प्रवेश प्रतिबन्ध हटाइसकेको छ । आगामी सिफिटले प्रदर्शनी, मञ्च र परियोजना समन्वय गतिविधिमार्फत विश्वव्यापी लगानीकर्तालाई चिनियाँ बजारका नयाँ अवसरबारे बुझ्न सहयोग पुर्याउने र खुला सहकार्यमार्फत पारस्परिक लाभ प्रवर्द्धन गर्ने मोफ्कमका अधिकारीले जानकारी दिए ।





