प्रधानमन्त्रीको उपस्थितिमा अन्योल, आज पनि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बुधबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएपछि आज पुनः सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ। सम्भावित कार्यसूचीअनुसार आज नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। तर, प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा सदन छाडेर निस्किएको घटनापछि विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिन पठाउँदा विपक्षीले प्रधानमन्त्रीकै उपस्थितिको माग गर्दै सदन अवरुद्ध गरेका थिए, जसका कारण तीनपटकसम्म बैठक स्थगित भएको थियो।
आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुने वा अर्को कुनै मन्त्रीलाई जवाफ दिन पठाउने भन्ने टुङ्गो लागिसकेको छैन। चालु अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ। यसैबीच, राष्ट्रियसभाको बैठक पनि ११:१५ बजे बस्दैछ, जहाँ सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ।





