कोहलपुरमा सुकुम्बासी सङ्घको सडक अवरोध प्रहरीले ५ मिनेटमै खुलायो

कोहलपुर (बाँके) । नेकपा समर्थित अखिल नेपाल सुकुम्बासी सङ्घले बिहीबार बिहान कोहलपुरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेको केही मिनेटमै प्रहरीले हस्तक्षेप गरी सडक सुचारु गराएको छ।
बिहान ८:१५ बजे पुरानो बसपार्क अगाडि सडकमा टायर बालेर राजमार्ग बन्द गरिएको थियो। प्रहरीले ८:२० बजे नै बालेको टायर फालेर सडक सुचारु गरेको छ।
सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष विज्ञान विश्वकर्मा र कोहलपुर नगर अध्यक्ष बलबहादुर खड्काको नेतृत्वमा एक दर्जन सुकुम्बासी सडकमा उत्रिएका थिए। प्रहरीले हस्तक्षेप गरेपछि सानो सङ्ख्यामा रहेका प्रदर्शनकारीहरू साइड लागेका छन्।
बैकल्पिक व्यवस्था नगरिएसम्म सुकुम्बासीलाई बसेको ठाउँबाट नउठाउन माग गर्दै आन्दोलनकारीहरूले सुकुम्बासीमाथि ज्यादती भएको आरोप लगाएका छन्। सङ्घले आन्दोलन देशव्यापी घोषणा गरेको जनाएको छ।





