प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने, आज अर्थमन्त्रीद्वारा बजेटका सिद्धान्त प्रस्तुत हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको स्पष्टीकरण दिने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सदनमा दफावार छलफल जारी रहेकोमा छलफल सकिएपछि प्रधानमन्त्रीको जवाफ र संशोधनहरूमाथि निर्णयार्थ प्रक्रिया अगाडि बढ्नेछ।
आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ। साथै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि पनि छलफल हुने कार्यक्रम रहेको छ।
यसैबीच, हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षीहरूले संसद् बैठक अवरुद्ध गरेका थिए।





