३ असार २०८३, बुधबार

मोटो कम्मर र गर्दनले छोट्याउँछ आयु, चिनियाँ अध्ययनको चेतावनी

बेइजिङ । तपाईंको कम्मर र गर्दन जति मोटो छ, स्वास्थ्यका लागि त्यति नै घातक हुन सक्छ। पछिल्लो चिनियाँ अनुसन्धानले कम्मर र गर्दनको मोटाइले आयु छोट्याउनुका साथै विभिन्न गम्भीर रोगको जोखिम बढाउने तथ्य उजागर गरेको छ।

अध्ययनअनुसार कम्मरको मोटाइ पेटभित्रको बोसोको मात्रा नाप्ने प्रमुख सूचक हो। कम्मर जति मोटो हुन्छ, पेटभित्र त्यति नै बढी बोसो जम्मा भएको हुन्छ। यसले प्रत्यक्ष रूपमा इन्सुलिन प्रतिरोध, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मेटाबोलिक सिन्ड्रोमको जोखिम बढाउँछ। साथै, यो हृदयघात र मस्तिष्कघातजस्ता मुटु तथा मस्तिष्कसम्बन्धी रक्तनली रोगहरूको ‘मौन उत्तेजक’ हो। पेटको बोसो लामो समयसम्म बसिरहने र शारीरिक निष्क्रियताजस्ता जीवनशैलीसँग गहिरो रूपमा जोडिएको हुन्छ।

‘चाइनिज जर्नल अफ एपिडेमियोलोजी’ मा प्रकाशित ४१ हजार व्यक्तिसम्मिलित एक अध्ययनले कम्मर जति मोटो भयो, हृदयाघात र मस्तिष्कघातको जोखिम त्यति नै बढ्ने र हृदयाघातबाट मृत्युको सम्भावना पनि उल्लेखनीय रूपमा बढ्ने देखाएको छ। चीनको स्वास्थ्य मापदण्डअनुसार पुरुषको कम्मर ९० सेन्टिमिटर र महिलाको ८० सेन्टिमिटरभन्दा बढी हुनु हुँदैन। यो सीमा नाघेमा स्वास्थ्यमा गम्भीर जोखिम बढ्छ।

यस्तै, मोटो गर्दनले घाँटीको छालामुनि वा श्वासनली वरपर अत्यधिक बोसो जम्मा भएको सङ्केत गर्छ। यसले थाइरोइड विकार, उच्च कोलेस्ट्रोल, फ्याटी लिभर, उच्च रक्तचाप, मुटुरोग, मधुमेह, निद्रामा श्वास अवरोध (स्लिप एप्निया) र फोक्सोको क्षमतामा कमीजस्ता विभिन्न रोगको जोखिम निम्त्याउँछ। पुरुषको गर्दन ३८ सेन्टिमिटर र महिलाको ३५ सेन्टिमिटरभन्दा बढी हुनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button