१८ असार २०८३, बिहीबार

सभामुखको आश्वासनमा खुलेको संसद, कार्यसूचीमा फेरि अर्थमन्त्रीकै नाम : विपक्षीले भने– ‘धोका भयो’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउने सभामुख डोलप्रसाद अर्यालको आश्वासनपछि बिहीबार खुलेको प्रतिनिधिसभा बैठकमा पुनः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै जवाफ दिने कार्यसूची सार्वजनिक भएपछि विपक्षी दलहरूले ‘धोका’ भएको प्रतिक्रिया दिएका छन्।

बुधबार प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दल कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृतिले तीनवटा बैठक अवरुद्ध गरेका थिए। प्रधानमन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न आएका अर्थमन्त्री वाग्लेलाई विपक्षीले अस्वीकार गरेपछि सभामुख अर्यालले जवाफका बखत प्रधानमन्त्रीलाई उपस्थित गराउने प्रतिबद्धता जनाएका थिए। सोही आश्वासनपछि मात्र विपक्षी सदन खोल्न राजी भएको थियो।

तर, बिहीबार बैठक सुरु हुनु केहीबेर अघि वितरित कार्यसूचीमा भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले नै दिने उल्लेख छ। सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहकै नाम रहे पनि अन्तिम समयमा परिवर्तन गरिएको हो। प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै आएका विपक्षी दलहरूले सभामुखबाट ‘धोका’ भएको अनुभव गरेका छन्।

यसैबीच, संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। तर, जवाफ दिने बेला बुधबारकै जस्तो प्रधानमन्त्रीकै उपस्थिति खोज्ने कि कार्यसूचीअनुसार अघि बढ्न दिने भन्ने विषयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने, “हिजो सभामुखले भनेभन्दा फरक ढंगले कार्यसूची आएको छ। अब के गर्ने भन्नेबारे छलफल गर्दै छौं।”

बिहीबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहले सदनलाई अपमान गरिरहेको जिकिर गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचैमा सदन छाडेर निस्केका शाह त्यसयता संसद्मा उपस्थित भएका छैनन्। प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने लामो संसदीय परम्परा रहेको विपक्षीको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button