गुटबन्दी र स्वार्थको आरोप लगाउँदै नेकपा खेलकुद महासंघका सहअध्यक्ष बर्तौलाले छाडे पार्टी र जिम्मेवारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलाले सांगठनिक जिम्मेवारी र पार्टी सदस्यता त्यागेका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा संगठनभित्रको अन्तरकलहका कारण काम गर्ने वातावरण नभएपछि बाध्य भएर जिम्मेवारीबाट बाहिरिनुपरेको उल्लेख छ। नेकपाको सम्पर्क समन्वय प्रदेश सचिवालय सदस्यसमेत रहेका बर्तौलाले पार्टीभित्र नेतृत्व तहमा चरम गुटबन्दी, व्यक्तिगत स्वार्थ र संगठन कमजोर बनाउने गतिविधि बढेको आरोप लगाएका छन्।
उनले फ्र्याक्सन इन्चार्ज शक्तिबहादुर बस्नेतको नामै किट्दै सीमित व्यक्तिको घेरामा रमाउने र निजी स्वार्थमा काम गर्ने प्रवृत्तिले यो स्थिति निम्तिएको आरोप लगाएका छन्। खेलकुद क्षेत्रलाई छुट्टै पहिचान दिलाउने आफ्नो चाहना भए पनि त्यसअनुसार काम गर्न नदिइएको बर्तौलाको गुनासो छ। आफूलाई जिम्मेवारीअनुसार काम गर्न नदिई निष्क्रिय बनाइएकाले बाध्य भएर राजीनामा दिनुपरेको उनले स्पष्ट पारेका छन्।





