सीईओ पक्राउले बैंकको साखमै आँच, ‘सुन अनि थुन’ को सिद्धान्त अपनाउन बैंकर्स संघको माग

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउको विषयमा बैंकिङ क्षेत्रका छाता संगठनहरूले विरोध जनाएका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “आम सर्वसाधारणको निक्षेप सङ्कलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने हुन्छ।” बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै ‘सुन अनि थुन’ को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा पाण्डेलाई यथाशीघ्र थुनाबाट बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन संगठनहरूले माग गरेका छन्।





