‘राष्ट्रपतिले पार्टी विवादमा पदीय मर्यादा बिर्सेर खेले’ : कांग्रेस नेता बस्नेतको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले पार्टीको आन्तरिक विवादमा राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाविपरीत सक्रिय भूमिका खेलेको आरोप लगाएका छन्। गत पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता दिलाउन राष्ट्रपति पौडेलले भूमिका खेलेको उनको दाबी छ।
बुधबार पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका बस्नेतले भने, “राष्ट्रपतिज्यू, तपाईं सबैको अभिभावक हो। तर, तपाईंले जुन गल्ती खेल्नुभयो, निर्वाचन आयोगसँग मिलेर खेल्नुभयो, त्यो गलत थियो। तपाईंले सर्वोच्च अदालतको कुरालाई जुन ढंगले खेल्नुभयो, त्यो गलत थियो।”
बस्नेतले बालेन सरकारले गरेका नराम्रा कामलाई पनि थापा पक्षले साथ दिइरहेको आरोप लगाउँदै संसद्मा राष्ट्रपतिको अपमान हुँदासमेत पक्षमा बोलिदिने कोही नभएको बताए। “राष्ट्रपतिको सम्बोधनजस्तो कार्यक्रममा प्रधानमन्त्रीज्यू हिँडेर जानुभयो, अपमान भयो। त्यसको विपक्षमा कसले बोलिदियो?” उनले प्रश्न गरे।
सर्वोच्च अदालतले देउवा पक्षलाई आधिकारिकता नदिएकोप्रति पनि बस्नेतले आक्रोश पोखे। कामु प्रधानन्यायाधीश सपना प्रधानमल्लले आफू प्रधानन्यायाधीशमा सिफारिस नभएपछि बोलेको प्रसंगलाई समेत उनले कांग्रेस विवादसँग जोड्दै भने, “त्यो बाघले हामीलाई खानै खोजेको थियो, तपाईंहरू गम्भीर बन्नुभयो। सर्वोच्च अदालतको आदेश बिर्सनुभयो। आज त्यो बाघ फेरि उभिरहेको छ, धेरै जनालाई किनारा लगाउन थालेको छ।” उनले देशलाई फेरि मूल्य र मान्यताको राजनीतिमा, विधिको शासनमा बाँध्न आफूहरू सडकमा जानुपर्ने अवस्था बन्दै गएको बताए।





