ब्रिक्स बैठकमा लाभरोभ–अराक्ची भेट : इरान–अमेरिका सम्झौताका लागि रुसको ‘सद्भावना सेवा’ को प्रस्ताव

नयाँदिल्ली । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र इरानी विदेशमन्त्री अब्बास अराक्चीबीच ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठकको साइडलाइनमा बिहीबार द्विपक्षीय वार्ता सम्पन्न भएको छ। दुई विदेशमन्त्रीले अमेरिका र इजरायलले मध्यपूर्वमा मच्चाएको सशस्त्र द्वन्द्वको समाधानका लागि भइरहेको वार्ता प्रक्रियाबारे विस्तृत र विश्वासिलो वातावरणमा छलफल गरे।
रुसी पक्षले युद्धविरामको व्यवस्था र नाजुक शान्तिलाई कायम राख्नुका साथै क्षेत्रीय दीर्घकालीन स्थायित्वको बाटो खोल्ने व्यापक इरान–अमेरिका सम्झौता प्राप्तिका लागि भइरहेको राजनीतिक तथा कूटनीतिक प्रयासलाई भङ्ग हुन नदिनुको महत्त्वमा जोड दिएको छ। लाभरोभले पारस्परिक रूपमा स्वीकार्य समाधानको खोजी र कार्यान्वयनका लागि दुवै पक्षलाई ‘सद्भावना सेवा’ प्रदान गर्न रुस तयार रहेको पुनः स्पष्ट पारे।
दुई पक्षले द्विपक्षीय सहकार्यका समसामयिक विषयहरूमा पनि छलफल गर्दै दुई मित्र देशबीचको व्यापक रणनीतिक साझेदारीलाई क्रमशः सुदृढ बनाउने पारस्परिक प्रतिबद्धता दोहोर्याएका छन्। यो वार्ता मध्यपूर्व सङ्कट समाधानका लागि कूटनीतिक पहलको निरन्तरताका रूपमा हेरिएको छ।





