६ असार २०८३, शनिबार

ग्रिस-युएई पठाइदिन्छु भन्दै २६ लाख ठगी, दुई पक्राउ

काठमाडौँ — वैदेशिक रोजगारीको प्रलोभनमा पारी २६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक, भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली र पर्वत, कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पराजुलीले ग्रिस पठाइदिने भन्दै एक पीडितबाट २३ लाख रुपैयाँ तथा बाँस्तोलाले युएई पठाइदिने भन्दै अर्का पीडितबाट ३ लाख रुपैयाँ लिएका थिए। पीडितहरूले रकम बुझाएपछि दुवै जना सम्पर्कविहीन भएको उजुरी परेपछि उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी आधिकारिक प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जान र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिन प्रहरीले सुझाव दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button