नागढुङ्गा–मुग्लिङ सडकको मन्त्री लम्सालद्वारा स्थलगत अनुगमन, निर्माण सुस्त हुनुमा इन्धन अभाव मुख्य कारण

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडकखण्डको स्थलगत अनुगमन गरेका छन्। पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे मन्त्री लम्सालले अनुगमन गरेका हुन्।
पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सडकखण्डको निर्माण कार्य प्रभावित हुन पुगेको छ। इन्धन र बिटुमिनको अभावले नागढुङ्गा–मुग्लिङ मात्र नभई देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्यसमेत सुस्त अवस्थामा छन्।
निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई स्थानीय स्तरमा हुने अवरोध र ढुङ्गा, गिट्टी तथा बालुवाको सहज उपलब्धता नहुनु पनि प्रमुख कारण रहेका छन्। निर्माण व्यवसायीहरूले यी समस्याबारे सरकारलाई पटकपटक अवगत गराए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिइएको गुनासो छ। व्यवसायीहरूको गुनासो र आयोजनामा देखिएको सुस्ततालाई मध्यनजर गर्दै मन्त्री लम्सालले समस्या समाधानका लागि अनुगमन गरेका हुन्।





